सुर्खेत । उत्थानशिल नगरका लागि सयुक्त पहल (जोइन) परियोजनाले मंगलवार वीरेन्द्रनगर नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष सङ्ग अभिमुखिकरण कार्यक्रम गरेको छ । यो परियोजना वीरेन्द्रनगर नगरपालिकाको विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सुरु हुँदैछ ।
वीरेन्द्रनगर नगरपालिका, वातावरण सुधार समाज, अन्तरनिर्भर समाज र नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको साझेदार निकाय र साझेदार राष्ट्रिय सोसाइटी : स्वीस रेडक्रसले वीरेन्द्रनगरका १० वडाहरु (१,२,३,९,१०,११,१३,१४,१५,१६)मा गतिविधिहरु केन्द्रित रहेको र बाकी ६ वडाहरु (४,५,६,७,८,१२) मा केहि गतिविधिहरु मार्च २०२२ देखि फेब्रुअरी २०२४ सम्म यो परियोजनाले काम गर्ने नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यक्रम संयोजक मनोज ठोकरले बताउनुभयो ।
विपद् लक्षित समुदाय र निकायको सीप अभिवृद्धि गर्ने, लक्षित समुदायमा स्थानियको क्षमताको प्रयोग गरि जोखिम अल्पिकरण गर्ने, नगरपालिकाले विपद् जोखिम न्यूनीकरणमा आफ्नो सिप, सयन्त्र र स्रोत, साधनहरुको लागू गर्ने पनि जोइन परियोजनाको उदेश्य रहेको छ ।
नगरपालिकामा आज भएको अभिमुखिकरण कार्यक्रममा नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी ढकाल, उपप्रमुख निलकण्ठ खनाल, प्रमुख प्रसासकिय अधिकृत नरहरी तिवारी १६ वटै वडाका वडा अध्यक्ष, साझेदार संस्थाका प्रतिनिधिहरु लगायत ३८ जनाको सहभागीता थियो । छलफलमा परियोजनालाई प्रभावकारी बनाउन र वीरेन्द्रनगरको विपद् जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । पालिका प्रतिनिधि, वडा अध्यक्ष, साझेदार संस्थाका प्रतिनिधिहरुले यसमा आफ्नो बिचार राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाको नवनिर्वाचित मेयर मोहनमाया भण्डारी (ढकाल) विपद् व्यवस्थापनको सबैभन्दा ठूलो कुरा सुचना भएको र सुचनाको प्रसारण प्रभावकारी बनाउन सके विपद् व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बनाउनुभयो । यस्तै उहाँले विगतमा बनेका ऎन, नियम र नितिमा टेकेर वडा अनुसार समस्या पहिचान भएका छन, ती कुरालाई ध्यानमा राखी व्यवस्थापनमा लाग्ने, हिजो गरेका कामका अनुभबमा टेकेर वडा सङ्गको छलफलमा अगाडि बढ्ने बताउनुभयो ।
औपचारिक कार्यक्रमका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाका सभापति रामलाल आचार्यले धेरै समयदेखी वीरेन्द्रनगरका विपद् सम्बन्धि विभिन्न विज्ञ, जानकार र स्थानिय सङ्गको छलफलबाट वीरेन्द्रनगरका १० वडालाई केही प्रभावित र ६ वडालाई बढी प्रभावितको सुचिमा राखेर यो परियोजनाले काम गर्ने बताउनुभयो । विपत व्यवस्थापनमा सबैको सहयोगको आबश्यक भएको र सबै मिले वीरेन्द्रनगरमा भएका विपद् तथा जोखिमको न्युनिकरण गर्न सकिने पनि उहाँले बताउनुभयो ।
यो छलफल वीरेन्द्रनगर नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिको पहिलो छलफल पनि हो ।
संवाददाता । मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित