दैलेख । जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्रका उम्मेदवार (कांग्रेसका बागी) नमराज शाही विजयी भएका छन् । नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका शाहीलाई नेकपा एमालेले निर्वाचनमा सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका हुन् ।
उनले निर्वाचन आयोगबाट खरायो चिन्ह प्राप्त गरेका थिए । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठ ९ मतमा रोकिइन् । उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए । उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत पाएकी छिन् । अन्य सदस्यहरूमा भने मिश्रित नतिजा आएको मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामीछानेले बताए ।
कर्णाली प्रदेशमा सबैभन्दा धेरै ११ वटा स्थानीय तह रहेको दैलेखमा प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी २२ जना मतदाता थिए । जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका २ र समाजवादीका १ जना मतदाताले मतदान गरेका थिए ।
यस्तै जिल्ला समन्वय समितिको उपप्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार केशवबहादुर शाही निर्वाचित भएका छन् । उनले ११ मत प्राप्त गरेर विजयी भएका छन् । गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गरिन् ।
जिल्ला समन्वय समितिको ३ जना महिला सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा नेकपा एकीकृत समाजवादीका ११ मतसहित कविताकुमारी गिरी, ११ मतसहित कोकीलाकुमारी खड्का र ११ मत सहित पुर्णा विक निर्वाचित भएका छन् ।
दलित वा अल्पसंख्यक सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी बनेकी नेकपा माओवादी केन्द्रकी तुल्छा विक ११ मत ल्याएर निर्वाचित भएकी छन् ।
यस्तै अन्य ३ जना सदस्यमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका अङ्गबहादुर शाही ११ मत र नेकपा माओवादी केन्द्रका फत्तबहादुर डाँगी ११ मतसहित विजयी भएका छन् । अन्य सदस्यमै स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही ११ मतसहित विजयी भएका छन् ।
संवाददाता । बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित