सुर्खेत । सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ । सुर्खेतका पाँचवटा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भएपछि केही सहज बनेको छ ।
नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेका प्रमुख दीपकप्रसाद घिमिरेले इन्धन आयात सहज बन्दै गएको बताए । “भन्सार प्रक्रियाको कारण रोकिएका ट्याङ्कर म्यानुअल प्रणालीबाट छुट्नेसकेको र आज साझसम्म ६० हजार लिटर पेट्रोल सुर्खेत आईपुग्ने उनले बताए । उनले भने, “बाँकी ट्याङ्कर पनि छुटाउने प्रक्रिया चलिरहेको छ ।
वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोलपम्पमा सोमवार आपूर्ति भएको २० हजार लिटर पेट्रोल सोमबार नै सकिएको छ । सोमवार पम्पहरुमा आज बिहानैदेखि मोटरसाइकल, स्कुटर र अटोरिक्सा चालकको बाक्लो भीड लागेको थियो । प्रहरीले इण्डियन आयल कर्पोरेशनद्वारा नयाँ ‘एक्जिम कोड’ लागू गर्दै इन्धन बोकेका ट्याङ्करलाई नेपाल–भारत सीमा रुपैडियामा रोकेपछि सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव चुलिएको हो ।
भारत सरकारले प्रयोगमा ल्याएको नयाँ भन्सार सफ्टवेयरमा ‘एक्जिट कोड’ र ‘इम्र्पोट एक्सर्पोट कोड’अनुसार बैंक खातामा प्रविष्ट गर्नुपर्ने कारण भारतबाट निर्यात हुने मुलुकमा पेट्रोलियम पदार्थको ढुवानी प्रभावित भएको हो ।
संवाददाता 🕒️२०७९ जेठ ३१ गते । मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित