Karnali Media
२०८३ जेठ २६ , मंगलबार

स्थानीय तहले आयुर्वेद सेवालाई प्राथमिकता दिनुपर्छ : जिसस प्रमुख सुनार



५ असार, सुर्खेत – जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले स्थानीय तहमा आयुर्वेद सेवाका लागि बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।
प्रदेश आयुर्वेद औषधालय सुर्खेतले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको आयुर्वेद सेवा सम्बन्धी समव्यात्मक बैठकमा जिसस प्रमुख सुनारले मान्छे निरोगी भयो भने मात्रै अन्य विकासको आवश्यकता हुने भन्दै आयुर्वेद क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेका हुन्। आगामी आर्थिक बर्षको लागि बजेट विनियोजन गर्ने समय आएकाले आयुर्वेदलाई सेवालाई विकास र विस्तारका लागि प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।
प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा.शंकर रिजालले नागरिकको स्वस्थ्य जीवन यापन बनाउका निम्ति सबैसंग सहकार्य गर्न चाहेको बताए । सुर्खेतका सबै पालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको बताउँदै डा रिजालले त्यसलाई व्यवस्थित गर्न स्थानीय सरकारहरुले ध्यान दिनुपर्नेमा जोड दिए । वीरेन्द्रनगर वडा नं. ४ का अध्यक्ष शेर बहादुर केसीले आयुर्वेद औषधालयसंग सहकार्य गर्ने बताए ।यस्तै नागरिक आरोग्य केन्द्र र आयुर्वेद सेवाका लागि पालिकाले सक्दो सहयोग गर्ने चिङ्गाड गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लालबहादुर जिसीको भनाई छ ।

कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।


प्रकाशित मिति : २०७९ असार ५ गते आइतबार