१२ असार, सुर्खेत – लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सुर्खेतमा प्रभातफेरी कार्यक्रम गरिएको छ । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा “मानवीय, स्वास्थ्य संकटको बेला झन्, लागू औषध चुनौतीको गरौं सम्बोधन” भन्ने नाराका साथ वीरेन्द्रनगरमा प्रभातफेरी कार्यक्रम भएको हो ।जिल्ला प्रशासन कार्यालय, सुर्खेतको अगुवाइमा जनस्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, लागू औषधविरुद्ध कार्यक्रम सञ्चालन गरिरहेका विभिन्न संघसंस्थाको आयोजनामा निकालिएको प्रभातफेरी मंगलगढीबाट शुरु भएर पिपलचौतारामा पुगेर टुंगिएको थियो ।प्रभातफेरीलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिम बहादुर शाहीले लागू औषधको प्रयोगका कारण व्यक्तिको स्वास्थ्य, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा प्रतिकूल असर पर्ने भएकाले यसका बिरुद्ध नागरिकलाई सचेत बनाउनुपर्ने बताए । यस्तै उनले नीति बनेर मात्र हुँदैन नियतिले पनि लागू औषधलाई धेरै प्रभाव पार्ने बताउँदै प्रदेश सरकार लागू औषध न्यूनीकरणका लागि आवश्यक नीति बनाउन लागेको बताए ।
दुर्व्यसनीमुक्त समाज बनाउन सबैले साझा रुपमा काम गर्नुपर्छ : नगरप्रमुख ढकाल
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले लागू औषधले हाम्रो व्यक्तिगत र सामाजिक जीवनलाई असर गर्ने र वीरेन्द्रनगरमा बढ्दै गएको शहरीकरणले यस्ता घटना दिनदिनै बढ्दै गएको हुँदा यसको न्यूनीकरण गरी दुर्व्यसनीमुक्त समाज बनाउन सबैले साझा रुपमा काम गर्नुपर्ने बताईन ।
लागू औषधले देशलाई अन्धकारमा धकेल्छ : प्रजिअ रिजाल
लागू औषधले देशलाई अन्धकारमा धकेल्ने बताउँदै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यसलाई नियन्त्रण गर्नु आजको प्रमुख चुनौती रहेको र सुर्खेतको सन्दर्भमा दिनदिनै लागू औषधका घटनाहरु बढिरहेको र यसको ग्राफ उकालो लागेको बताउँदै यसको नियन्त्रणमा तीनै तहका सरकारहरु लाग्नुपर्ने बताए ।प्रभातफेरीमा विभिन्न कार्यालयका कार्यालय प्रमुख/कर्मचारीहरु, सामुदायिक प्रहरी, लागू औषध विरुद्धको क्षेत्रमा कार्यरत विभिन्न अभियन्ताहरु, विभिन्न स्कूल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरु र पत्रकारको सहभागिता थियो ।
तस्वीरहरु :
संवाददाता । आइतबार, असार १२, २०७९ मा प्रकाशित