काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले राजनीतिक भागवण्डामा परिषद् परेको बताएका छन् ।
आज मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै धरेलले सरकारले राजनीतिक प्रतिशोधका आधारमा परिषद्को जिम्मेवारीबाट आफूलाई हटाएको बताएका छन् ।
आफ्नो नेतृत्वमा राष्ट्रिय बाल अधिकार परिषद् मा कानुनी तथा संरचनागत सुधार गरेको धरेलको भनाई छ ।
परिषद्का कर्मचारीले प्राप्त गर्ने सेवा सुविदा समेत सरकारले कटौती गरेको भन्दै परिषद् प्रति गरेको राजनीति विभेदका कारण वार्षिक रूपमा दुई पटक गर्नु पर्ने बैठक समेत यो वर्ष एक पटक पनि बस्न नसकेको उनको भनाई छ ।
वर्तमान सरकार गठन भएपछि विना कारण बाल अधिकार परिषद् माथि निरन्तर आक्रमण भएको पनि उनी बताउछन् ।
केपी ओली नेतृत्वको सरकारले परिषद्लाई ८ करोड १३ लाख बजेट विनियोजन गरे पनि देउवा नेतृत्वको सरकारले प्रतिस्थापन विधयेक मार्फत बजेट कटौती गर्दै परिषद् माथि आक्रमण गरेको उनको आरोप छ । उक्त बजेट कटौतीले सडक बालबालिका र बाल संरक्षण सेवाहरू प्रत्यक्ष रूपमा प्रभावित हुन पुगेको उनले दुखेसो गरेका छन् ।
परिषद्ले हिंसा पीडित बालबालिका संरक्षणका लागि आवश्यक बजेट माग गर्दा समेत सरकारले नसुनेको बताउदै जसले गर्दा ३ सय ६० जना सडक बालबालिका अस्थायी संरक्षण सेवा वापतको खर्च भुक्तानी गर्न नसकेको धरेलको भनाई छ ।
यस्तै, कोभिडका कारण अनाथ भएका १ सय ३९ बालबालिकाको संरक्षणका लागि आवश्यक बजेट पनि वर्तमान सरकारले नदिएको बताएका छन् ।
प्रतिकुल अवस्थामा पनि आफूले २३ महिना १० दिनमा आफूले परिषद्मा उल्लेख्य सुधार गरेको बताउँदै उनले यो अवधिमा बालबालिका सम्बन्धी राष्ट्रिय नीति २०७९ अनुमोदनका लागि अघि बढाइएको बताए ।
‘बालबालिका सम्बन्धी ऐनमा तत्काल सम्बोधन गर्नु पर्ने त्रुटिहरूलाई केही नेपाल संशोधन ऐन मार्फत अघि बढाउन संशोधन प्रस्ताव अघि बढाइएको छ’ उनले भने ‘बालबालिका सम्बन्धी १० वर्षे कार्य योजनाको मस्यौदा प्रक्रिया अघि बढाइएको, स्थानीय तहमा बाल अधिकार संरक्षण तथा संवर्द्धन सम्बन्धी कार्यविधि सन्दर्भ कानुनको रूपमा तर्जुमा गरी स्थानीय तहलाई सहजीकरण गरिनु, परिषद्लाई नेपाल सरकारको विज्ञ तथा श्रोत संस्थाको रूपमा स्वीकार्य गराउनु, बाल हेल्प लाइन सेवा बिस्तार गर्नु, बालबालिका खोजतलास सेवा बिस्तार गर्नु मेरो कार्यकालको उपलब्धि हो’ ।
राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलको सार्वजनिक वक्तव्य :-
संवाददाता । मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित