२ साउन, दैलेख । दैलेख गुराँस गाउँपालिकाका करार कर्मचारीले आन्दोलनलाई जारी राखेका छन् । करार कर्मचारीहरुको म्याद नथप्ने गाउँपालिकाले निर्णय गरेपछि उनिहरु आन्दोलित भएका हुन् ।
म्याद थप नभएसम्मको लागि अन्दोलन जारी रहने उनिहरुको भनाई छ । करार सेवामा कार्यरत कर्मचारीहरुले सोमबार आज पालिका परिसरमा धर्ना दिएका छन् । करार कर्मचारीहरुको आन्दोलनलाई विभिन्न पेशा संघसंगठनहरुले पनि ऐकेवद्धता जनाएका छन् । पालिकाले नियुक्त गरेका करार कर्मचारीसहित तत्कालिन जिल्ला विकास समितिबाट नियुक्त भएर गाउँपालिकामा कार्यरत कर्मचारीहरु समेत रहेका छन् ।
करार कर्मचारी हटाइएको विषयमा अहिले आरोप प्रत्याआरोप चलिरहेको छ । विशेष गरेर सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलेको छ । घटनालाई राजनितिक दाउपेच बनाइएको एकपक्षको आरोप छ भने सरकारले रोजगारीको ग्यारेन्टी गर्नुपर्नेभन्दा पनि रोजीरोटी खोसेको अर्को पक्षको आरोप छ ।
उनिहरुको पुनःवहालीको माग गर्दै असार ३१ गतेबाट करार कर्मचारीहरु आन्दोलित भएका छन ।
आन्दोलनको पहिलो दिन कर्मचारी र प्रहरीबिच झडव समेत भएको थियो । झडवका क्रममा प्रहरीले गोली समेत चलाएको थियो, भने आन्दोलनकारी र प्रहरी दुबै पक्ष केही व्यक्ती घाइते भएका थिए । घटनाको सत्यतथ्य छानबिन गर्न भन्दै प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।
संवाददाता । सोमबार, साउन ०२, २०७९ मा प्रकाशित