साउन ४, सुर्खेत । वीरेन्द्रनगरमा अबैध रुपमा ल्याएर विक्री वितरण भइरहेको मंगुर माछा प्रसाशनले जफत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेत नेतृत्वको बजार अनुगमन टोलीले अबैधरुपमा भित्र्याईएको प्रतिबन्धित मंगुर माछाको विक्री वितरण भईरहेको सूचना पाएलगतै हटियालाईन चोक र मंगलगढी चोकबाट २ सय १० किलोग्राम माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
अनुगमन टोलीले हटियालाईन स्थित विरु माछा पसलबाट ८० किलो, संजिव माछा पसलबाट ८० किलो र रोशन माछा पसलबाट ५० किलो माछा जफत गरी मंगलबार राती नै वीरेन्द्रनगर नगरपालिका अगाडि रहेको कुइनेपानी जंगलमा गाडेर नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले बताए ।
उनले सर्वसाधारणको गुनासो र सूचनाका आधारमा प्रहरीसहितको अनुगमन टोलीले वीरेन्द्रनगर बजारका केही माछा पसलहरुमा खानतलासी गर्दा प्रतिबन्धित मंगुर माछा पाइएले ती माछा जफत गरी नष्ट गरी व्यवसायीलाई फेरी विक्री वितरण गरेको पाईए कानून अनुसार कार्वाही हुने चेतावनी दिएर छोडिएको जानकारी दिए । उनका अनुसार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पशुपंक्षी विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकारहरुको सहभागिता रहेको थियो ।
जिल्लामा अबैध तवरले भारतीय तथा अन्तरप्रदेशबाट प्रतिबन्धित मंगुर माछासँगै ‘फर्मालिन’ प्रयोग गरेका माछाहरु आयातित हुन थालेपछि जिल्ला प्रशासन कार्यालयको रोहवरमा बसेको बजार अनुगमन समितिसँगै सर्वपक्षिय बैठकले गत जेठ १८ गते सुर्खेतमा उक्त माछाको विक्री वितरणमा रोक लगाईएको थियो ।
माछाको वर्गींकरणमा समेत नराखिएको मंगुर माछाले अन्य माछालाई खाइदिने र जैविक विविधतालाई पनि नष्ट गरी जल प्रदुषण हुनुका साथै अत्याधिक मात्रामा हेभिमेटल पाइने भएकाले उक्त माछाको सेवनबाट क्यान्सर, अर्थराटिस, मधुमेह लगायतका घातक रोगहरु निम्तिने विज्ञहरुको भनाइ छ ।
संवाददाता । बुधबार, साउन ०४, २०७९ मा प्रकाशित