साउन ५, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाले करार कर्मचारी हटाएपछि एमालेले विरोध गरेको छ । नेकपा (एमाले) ठाटीकाँध गाउँपालिका कमिटिले बिहीबार विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो ।
एमालेले ठाटीकाँध गाउँपालिकाले राजनैतिक प्रतिशोधका आधारमा सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै आरोप लगाएको छ । गत असार २८ गते टीकाँध गाउँपालिकाले एक सुचना जारी गर्दै नियमित कामकाजमा रहि विगतको सरकारले स्थानीय तहमा कर्मचारी अभावमा नियमित कार्य संचालन गर्न कठिनाई भएको भन्दै करारकम कर्मचारीलाई हटाएको थियो ।
उक्त विषयलाई लिएर एमाले ठाटीकाँध गाउँपालिका कमिटि अध्यक्ष कुमारविक्रम शाहीले विभिन्न समयमा प्रक्रिया पूरा गरी रिक्त दरबन्दीमा करार सेवामा नियुक्ति प्राप्तका करार कर्मचारीहरुलाई करार सम्झौता सम्बन्धी मापडण्ड २०७८ को नियम विपरित हटाएको भन्दै विरोध जनाए । उनले भने, ‘पालीकाले गरेको कर्मचारीको करार म्याद थप नगर्ने निर्णय प्रति हाम्रो पार्टीले घोर भत्सना गर्दछ ।’
यस्तै, एमालेले संघिय सरकार मार्फत पालिकामा लामो समयदेखि अस्थाई दरबन्दीमा नियुक्ति भई विभिन्न विषयगत शाखामा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन स्तर र मूल्यांकन तथा थप नयाँ अवधिको लागि राजनीतिक आग्रह र पूर्वाग्रहबाट स्थानीय सरकार संचालन गर्न खोज्नु स्थानीय सरकार र स्थानीय जनताको भावना विपरितको कार्य भएको ठहर गरेको छ ।
एमालले गैर–राजनीतिक क्रियाकलापहरु यथाशीघ्र बन्द गर्न स्थानीय सरकार लाई ध्यानाकर्षण समेत गराएको छ । साथै पालीका यसअघि कामकाज गरिरहेका करार कर्मचारीहरुलाई काममा निरन्तता दिन आग्रह गरेको छ । यदी पालीकाले कुनै सुनुवाई नगरेमा र राजनैतिक प्रतिशोधका आधारमा सत्ता र शक्तिको दुरुपयोग गरेमा न्याय र समानताको लागि एमाले ठाटीकाँधले जस्तो सुकै कदम चाल्ने चेतावनी दिएको छ ।
संवाददाता । बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित