९ साउन, सुर्खेत । मो.मोमा अखाद्य बस्तु भेटिएपछि वीरेन्द्रनगरमा एक होटलको स्तरीकरण चिन्ह खोसिएको छ । आज मो.मोमा अखाद्य बस्तु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतमा गुनासो आएपछि तत्काल होटलको अनुगमन गर्दा भान्सा र भण्डारण कक्ष अव्यवस्थित रहेको र अनुगमनका क्रममा सरसफाई र खाद्य स्वच्छताका स्तर कमजोर पाईएकोले यसभन्दा पहिले खाद्य स्वच्छताको आधारमा होटेल तथा रेष्टुरेण्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ को आधारमा दिएको स्तरीकरण चिन्ह खोसिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले जानकारी दिए ।
यस्तै उक्त होटललाई भान्सा व्यवस्थित गर्नुपर्ने, भण्डारण कक्ष व्यवस्थित गर्ने, भण्डारण कक्ष व्यवस्थित गरेर कार्यलयलाई जानकारी गराए मात्र होटल संचालन गर्न निर्देशन दिएको छ । पुन: स्तरिकरण चिन्ह प्राप्त गर्न माथि दिएका निर्देशन बमोजिम सुधार गरेर स्तरिकरण लोगो खोसिएको कार्यालयलाई होटल स्तरिकरणका लागि पुन: निवेदन दिनुपर्ने छ ।
होटल अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादु्र थापा, नगर प्रहरी सुर्खेतका बरिष्ठ हवलदार खगेन्द्र भण्डारी, खाद्य निरिक्षक पदम बराल र विवेक कुमार सुवेदी तथा पत्रकारको सहभागिता थियो ।
संवाददाता । सोमबार, साउन ०९, २०७९ मा प्रकाशित