सुर्खेत, साउन १९ । पालिकाले प्रत्येक आर्थिक वर्षको असार मसान्तसम्म सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाइटमा बजेट पेस (अपडेट) गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर कर्णाली प्रदेशमा १२ वटा पालिकाले अझै मन्त्रालयको बेवसाइटमा बजेट अपलोड गरेका छैनन् ।
पालिकाले असार १० गतेसम्म गाउँ तथा नगर सभा गरेर असार मसान्तसम्म मन्त्रालयको बेवसाइटमा बजेट अपलोड गरिसक्नुपर्छ । तर कर्णाली प्रदेशको जुम्लाको चन्दनाथ नगरपालिका, पातारासी र हिमा गाउँपालिकाले बजेट अपलोड गरेका छैनन् । यसबारेमा जुम्लाको चन्दननाथ गाउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापाभने बजेट निर्माण प्रक्रिया तयार भएको तर विविध कारणले बजेट पेस (अपडेट) गर्न नसकिएको जानकारी दिए ।
यस्तै, सुर्खेतको बराहताल गाउँपालिका,
जाजरकोटका जुनिचाँदे, छेडागाड गाउँपालिका र नलगाड नगरपालिकाले बजेट पेस गरेका छैनन् । सल्यानका कालीमाटी र छत्रेश्वरी गाउँपालिकाले पनि पेस गरेका छैनन् । कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर के.सीले पनि बजेट निर्माण भएर सकिएको अब तत्कालै बजेट अपडेट गरिहाल्ने बताएका छन् ।
दैलेखका भैरवी, गुराँस गाउँपालिका र आठबीस नगरपालिकाले पनि बजेट पेस गरेका छैनन् । दैलेखको आठबिस नगरपालिकाका नगरप्रमुख तर्क बहादुर बढुवालले भने बजेत पारित भएको तर अपडेटमा भने पालिकाको कमजोरी भएको जनाए ।
पालिकाले समयमै बजेट पेस नगरेर आफ्नो दायित्व र कर्तव्यबाट पछि हटेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता वसन्त अधिकारीले बताएका छन् ।
देशभरका सात सय ५३ वटा पालिकामध्ये अझै एक सय १५ वटा पालिकाले बजेट पेस नगरेहको पाइएको छ ।
भावना राना । बिहिबार, साउन १९, २०७९ मा प्रकाशित