साउन २१, सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८ सय २१ योजना सम्पन्न गरेको जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक भएको हो ।
दुई हजार ७ सय २५ योजनामध्ये ८ सय २१ योजना सम्पन्न गरिएको मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले जानकारी दिए ।
खानेपानीतर्फका १ सय ४७ वटा योजना बहुवर्षीय ठेक्कामार्फत काम भइरहेको, ७४ क्रमागत योजना यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्नका लागि काम भइरहेका र त्रिहत्तर नयाँ योजना यो वर्षमा कार्यान्वयन हुने क्रममा रहेका रहेका छन् ।
त्यस्तै चार योजना समपूरक रहेका छन् । सिँचाइतर्फ बहुवर्षीय १२, क्रमागत २७३ र नयाँ ५५ योजना यो वर्ष सञ्चालनमा रहेका छन् ।
जनता सिँचाइतर्फका २५ योजना र सिँचाइको संस्थागत विकासमा १० योजना रहेका छन् । एक सय २९ योजनामध्ये क्रमागत ५३ योजना अघिल्लो आवमा सम्पन्न भइसकेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।
यसैबिच, कर्णाली प्रदेश सरकारले १६ किलोमिटर सडक कालोपत्र गरेको प्रगति विवरण सार्वजानिक गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगति समीक्षामा यो कुरा सार्वजनिक गरिएको छ ।
प्रदेशका सबै मन्त्रालयहरूको प्रगति सुनाउने क्रममा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पिच गरेको प्रगति समीक्षामा तथ्यांक सार्वजानिक गरेको थियो ।
त्यस्तै ग्राभेल ११३ किलोमिटर , नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ ।
त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्माण गरेको जानकारी गराएको छ । आर्थिक वर्ष २०७८–७९ को बार्षिक प्रगति विवरण सबै मन्त्रालयले तथा प्रदेश स्तरका कार्यालयले सार्वजानिक गरिरहेका छन् । प्रगति विवरणमा सबै भन्दा राम्रो विकट जिल्ला डोल्पामा रहेको पाइएको छ ।
सुगम जिल्लामा काम सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रश्न समेत गरेका थिए ।
मुख्यमन्त्री शाहीले कर्मचारीको काम गर्ने स्पीड सन्तोषजनक नभएको भन्दै यो आर्थिक वर्षमा त्यस्ता गल्ती नदोहर्याउन समेत आग्रह गरेका थिए ।
सबै भन्दा ठूलो बजेटको हिस्सा भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कर्णालीमा सडक, पुल, जनता आवास, यातायात कार्यालय लगाएका ठूला विकासका काम गर्दै आएको छ । कर्मचारी अभावका कारण काम गर्न समस्य भएको समीक्षामा गुनासो गरिएको थियो । बेरुजुको मात्रा समेत भारी मात्रामा रहेको पाइएको छ । ५४ करोड रुपैयाँ बेरुजु रहेको कार्यक्रममा जानकारी गराएको छ ।
संवाददाता । शनिबार, साउन २१, २०७९ मा प्रकाशित