सुर्खेत, साउन २८ । ठेकेदारको लापरबाहीले समयमै खाद्यान्न ढुवानी नहुँदा हिमाली जिल्ला मुगु र जुम्लाका खाद्य गोदाम रित्तिएका छन । अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जुम्लास्थित गोदाममा ३ सय २५ र मुगुमा ७ सय क्विन्टल चामल मात्र मौज्दात छ ।
त्यो पनि आपत्कालीन अवस्थाका लागि जगेडा राखिएपछि स्थानीयले ढुवानी अनुदानको चामल पाउन सकेका छैनन ।
ठेकेदारको लापरबाहीले बर्सेनि सरकारी अनुदानको चामल पाउन कठिन भएको छायानाथरारा नगरपालिका–१३ की जौमती लावडले बताए ।
खाद्य डिपोमा चामल नपाएपछि व्यापारीबाट महंगोमा किन्नु परेको सोरु गाउँपालिका–७ का हर्कसिंह बुढाले गुनासो पाखेका छन् ।
चालु आर्थिक वर्षमा चामल ढुवानीको ठेक्का प्रक्रियामा ढिलाइ हुँदा ठेकेदारले ढुवानी गरेका छैनन् । अघिल्लो आर्थिक वर्षमा गमगढीमा ११ हजार क्विन्टल चामल ढुवानी हुनुपर्नेमा ठेकेदारले ८ हजार क्विन्टल मात्र ढुवानी गरेका थिए ।
चामल नहुँदा मुगुको रातापानी र कालै बिक्री केन्द्र पनि लामो समयदेखि बन्द छन् । पेट्रोलियम पदार्थको मूल्य बृद्धिले ठेकेदार कम्पनीहरुले ढुवानीमा आनाकानी गरेकाले ढिलाई भएको प्रादेशिक कार्यालय सुर्खेतका सूचना अधिकारी बासुदेव रिजालले बताए । अब भने ठेकेदारहरुसंग सहमती भैसेको भन्दै चाँडै ढुवानी हुने उहाँको भनाई छ ।
हिमाली जिल्लामा खाधान्न ढुवानीका लागि सरकारले अनुदान दिँदै आएको छ । ढुवानीको ठेक्का लिएका ढुवानीकर्ताले समयमै खाद्यान्न नपुर्याउदा स्थानीयले हरेक बर्ष खाद्यान्न अभाव व्यहोर्नु परेको छ ।
संवाददाता । शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित