७ भदौ, सुर्खेत। सुर्खेतमा चुनावी प्रक्रिया र नीति निर्माण तहमा युवा संलग्नता विषयमा बहुपक्षीय बहस कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
इन्टरनेशनल फाउन्डेसन फर इलेक्ट्रोल सिस्टम को आर्थिक सहयोग र नेपाल युवा संस्था संजाल आयोनको आयोजनामा आज वीरेन्द्रनगर सुर्खेतमा चुनावी प्रक्रिया र नीति निर्माण तहमा युवा संलग्नता विषयक बहुपक्षिय बहस कार्यक्रम सम्पन्न भएको हो । प्रदेश सभा सदस्य राजु नेपाली, वीरेन्द्रनगर नगरपालिकाका उप-प्रमुख निलकण्ठ खनाल, कर्णाली प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गा प्रसाद चालिसे र जिल्ला युवा परिषद का अध्यक्ष निरज भट्टराई मुख्य बक्ता रहेको उक्त कार्यक्रममा सुर्खेत स्थित युवा र निर्वाचन शिक्षाको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि मध्य पश्चिम विश्वविद्यालयका विद्यार्थिहरु सहभागी रहेको थियो।
कार्यक्रममा राष्ट्रिय युवा नीति २०७२, युथ भिजन २०२५ को कार्यान्व्यन र प्राथमिकता का साथै युवाहरुका मुद्धाहरुलाई कसरी एकिकृतरुपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । यसैगरी स्थानीय सरकारको नीति तथा बजेट निर्माण प्रक्रियामा युवाहरुको सहभागिता बढाउन सरोकारवालाहरुको भूमिका,आगामी निर्वाचनमा मतदाता शिक्षा र निर्वाचन शिक्षामा युवाहरुको संलग्नता कसरी सुनिश्चित गर्न सकिन्छ र निर्वाचनमा पर्यवेक्षक तथा स्वतन्त्र प्रतिनिधिको रुपमा युवाहरुलाई कसरी लैजान सकिन्छ भन्ने विषयमा बहस केन्द्रित गरिएको थियो।कार्यक्रममा सहभागी युवाहरुले निर्वाचन बिषयमा अनलाइन भोटिङ, युवा परिचालन, राजनीतिक दलमा युवाहरुको सहभागीता, युवा सम्बन्धि नीति नियम र युवाका लागि सांसदहरुले गरिरहेका विभिन्न कामका बिषयमा प्रश्न गरेका थिए।यस्तै, युवाका प्रश्नहरुमा अब युवाहरु राजनीतिक दलका पछाडि दौडने मात्र होइन युवाहरु पनि नेतृत्वमा जानु पर्ने,श्रम सीपलाई विश्वास गर्नुपर्ने,कुरालाई प्रतिनिधिले जोड दिएका थिए । वीरेन्द्रनगर नगरपालिकामा छिटै नगरपालिका स्थापना भएको अवसरमा सीप र श्रममा लागेका युवाहरुलाई सम्मान गरिने र युवा नीति पनि छिटै बनाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता उप-प्रमुख निलकण्ठ खनालले गरेका थिए । उक्त कार्यक्रमको उद्देश्यमाथि खिम रेग्मीले प्रष्ट पारेका थिए।
संवाददाता । मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित