सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रममा गरिएको छ । प्रदेश प्रहरी कार्यालयको अगुवाईमा भएको कार्यक्रममा जिल्लाका प्रशासन, सुरक्षा निकाय, विद्यार्थी, नागरिक समाजको सहभागिता रहेको थियो । गत भदौ २५ गते अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवसका अवसरमा तय गरिएको कार्यक्रम बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनको कारण नेपाल सरकारले शोक घोषणा गरेको भन्दै स्थगित गरिएको थियो ।
बिश्व आत्माहत्या रोकथाम दिवस “आशा जगाऔं, जीवन बचाऔं” भन्ने मुल नारासहित वीरेन्द्रनगरको मंगलगढीबाट सुरु भएको प्रभातफेरी सुर्खेत सभाहलमा गएर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले पछिल्लो समयमा आत्महत्याले विकराल रुप लिने गरेको भन्दै यसको विरुद्धमा सबैलाई सचेत बनाउन कार्यक्रमको आयोजना गरिएको बताए ।आत्महत्याको ग्राफ उकालो लाग्दै गएकोले यसको न्यूनीकरणमा सबै जुट्नुपर्ने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले बताए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतसँगै, आत्महत्या सम्बन्धी क्षेत्रमा काम गर्ने संघ संस्था, विद्यालय, युवा लगायतको सयुँक्त सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अमूल्य जीवनलाई खेर फाल्न नहुने बताए। आत्महत्याको रोकथामका लागि सबैलाई सचेत बनाउन सरोकारवालाले हातेमालो गर्नुपर्नेमा रिजालले जोड दिए । बढ्दै गरेको आत्महत्याका घटनालाई निर्मूल पार्न सचेतना फैलाउनुको विकल्प नरहेको पनि उनले बताए।वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुख मोहनमाया ढकालले आत्महत्या आजको प्रमुख समस्या भएकोले यसको समाधानमा स्थानीय, प्रदेश र संघ सरकारको समन्वयकारी भुमिका हुनुपर्ने बताईन ।
संवाददाता । आइतबार, असोज ०२, २०७९ मा प्रकाशित