Karnali Media
२०८३ असार २ , मंगलबार

सुर्खेतमा बादी बालबालिकालाई खाद्यान्न सहयोग



सुर्खेत । वीरेन्द्रनगर–८ खजुरामा रहेको बादी आवासगृहमा खाद्यान्न सहयोग गरिएको छ। कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आवासगृहमा खाद्यान्न सहयोग गरेको हो।

संविधान दिवसको अवसर पारेर आवासगृहका १ सय २६ जना बादी बालबालिकालाई खाद्यान्न वितरण गरेको छ। चाडपर्व नजिकिँदै गरेको बेला उनीहरुलाई खाद्यान्न सहयोग गरेको कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले बताए। आवसगृहमा ३० बोरा चामल, ५० केजी दाल, पाँच वटा ग्यास सिलिन्डर, दुई पेटी स्याउ, पाँच प्याकेट पिठो, दुई पेटी तेल दिइएको छ। यस्तै पाँच केजी बेसार, एक बोरा आलु, पाँच पेटी स्वविन, एक बोरा काउँली, नुन र खुर्सानीलगायत खाद्यान्न प्रदान गरेको सचिव भुसालले बताए।सडक छेउछाउमा मागेर हिँड्ने बालबालिकालाई एक ठाउँमा राखेर पढ्ने वातावरण बनाएकोमा आवासगृहका सञ्चालक हिक्मत बादीलाई आभार व्यक्त गर्दै कानुनमन्त्री हिमबहादुर शाहीले छिट्टै मुख्यमन्त्रीसँगको समन्वयमा बालबालिकालाई गाँसबास र कपासको व्यवस्थासँगै पढ्ने, लेख्ने वातावरण बनाउने प्रतिबद्धता जनाए।


प्रमुख सचिव गोपीकृष्ण खनालले बादी बालबालिकाको भविष्यबारे प्रदेश सरकारले चिन्ता लिएको बताए । बादी आवासगृहमा कर्णाली प्रदेशका १० जिल्लाबाट झन्डै १ सय २६ जना बालबालिका छनन्।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतबार