सुर्खेत । संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ।
वीरेन्द्रनगरको मंगलगढीबाट सुरु भएको प्रभातफेरी कार्यक्रमको सुर्खेत सभाहलमा विशेष कार्यक्रम गरिएको थियो। कार्यक्रममा शुभकामना दिदै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले संविधान आएपश्चात् सबैले सुरक्षित महशुस गरेको बताएका छन्। उनले भने ‘संविधान कार्यान्वयनमा चुनौती हुन्छ नै तर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीको अभिन्न अङ्ग भैसकेको छ। जसले गर्दा हाम्रो समग्र बिकासको लागि नेपालको संविधानलाई कार्यान्वयन गर्दै जानुपर्छ।’ जनताको अपेक्षा पूरा गर्न प्राथमिकताको आधारमा दिगो बिकास गर्नुपर्ने बताउदै मन्त्री शाहीले नयाँ युगको विकासमा जुटेका र संविधानको भावनालाई मध्यनजर गरेर हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए।
दिवसका अवसरमा सोमबार सुर्खेतमा संविधान दिवस मुल समारोह समितीले गरेको कार्यक्रममा प्रदेश सरकारका प्रमुख तथा प्रतिनिधि, मन्त्री, जनप्रतिनिधि, विभिन्न शाखाका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रमुख तथा प्रतिनिधि र नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहभागीता रहेको थियो कार्यक्रममा विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन समेत गरिएको थियो।
संवाददाता । सोमबार, असोज ०३, २०७९ मा प्रकाशित