निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गत आइतबार सर्वोच्च अदालतमा हाजिर हुन जाने बताएपछि सर्वोच्च र राणानिवास बालुवाटारमा सुरक्षाकर्मी परिचालन भएका थिए।
आइतबार बिहान ११ बजे सर्वोच्च पुग्छु भनेका राणा बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिएनन्। राणाले सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिँदै आफूलाई सरकारले नै निवास बाहिर आउन नदिएको बताएका थिए। प्रधानन्यायाधीशको सरकारी निवास बाहिर पत्रकारहरू पनि आइतबार साँझपखसम्मै बसेका थिए।
यसैक्रममा राणा निवासबाट गाडी चढेर आएकी एक जना महिलाले पत्रकारहरूलाई प्रतिक्रिया दिइन्। उनले आफू चोलेन्द्र शमशेरकी छोरी, सुनिधि राणा भएको बताएकी थिइन्।
‘हामीलाई बाहिर निस्कन पनि दिइराख्या छैन। बच्चाहरू स्कुलबाट लिन जानुपर्छ। बच्चा ल्याउने काम गर्ने मानिस बाहिर आइराखेको बेला उसलाई पनि समातेर थुन्दियो, हामीले पनि बाँच्न पाउनुपर्यो नि,’ उनले भनेकी थिइन्, ‘यो त एकदमै अराजकताको पनि पराकाष्ठा छ। अब के कारणले यिनीहरूले गरिराख्या छ बुझिराख्या छैन। एक किसिमको लाज पनि हराएर, नैतिकता पनि हराएर हामीमाथि अन्याय र अत्याचार नै भएको छ।’
उनले आफूहरूमाथि भइरहेको अन्याय र अत्याचार नेपाली जनताले बुझिदिनुपर्ने पनि बताएकी थिइन्। उनले आफू चोलेन्द्र शमशेरको छोरी भएको बताए पनि चोलेन्द्रले बुझाएको सम्पत्ति विवरण फारममा उनको नाम उल्लेख छैन।
छोरा छोरीको विवरणमा सचिन्द्र शमशेर जवरा, सृष्टि राज्यलक्ष्मी राणा रावल, सम्बृद्धि राज्यलक्ष्मी राणा कुँवरको नाम उल्लेख छ।
चोलेन्द्रको छोरी बताएकी सुनिधिको प्रतिक्रिया लिएको न्युज एजेन्सी नेपालले सोमबार विज्ञप्ति जारी गर्दै ‘आफू प्रधानन्यायाधीशको छोरी हुँ भनि भिडिओमा बोल्ने महिला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको छोरी नभएको निष्कर्ष निकालेका छौं’ भनेको छ।
न्युज एजेन्सी नेपालले विभिन्न मिडियालाई भिडिओ, समाचार सेवा दिन्छ। उक्त संस्थाकी कार्यकारी प्रमुख कृष्णा पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा गलत सूचना परेकोले माफी माग्दछौं र जिम्मेवारी लिन्छौं भनिएको छ।
यस्तो छ विज्ञप्ति :चोलेन्द्र शमशेरको छोरी दाबी गरेकी सुनिधि छोरी नभएको भन्दै आइतबार बेलुकीदेखि नै दाबीसहित चर्चा भइरहेका थिए। यसैक्रममा सोमबार शिलापत्र डटकमले ‘चोलेन्द्र शमशेरकी छोरी भनेर हिजो मिडियामा छाएकी युवकी को हुन्रु’ भनेर समाचार लेखेको थियो। उक्त समाचारमा उल्लेख गरिएअनुसार चोलेन्द्रकी छोरी दाबी गरेकी सुनिधि दैलेखकी मीना जोशी हुन्।
उनको घर दैलेखकको चामुण्डा(बिन्द्रासैन नगरपालिका पर्ने र देवीराम जोशीका दुई छोरीमध्ये उनी जेठी छोरी भएको उक्त समाचारमा उल्लेख छ। शिलापत्रले यो समाचार लेखेपछि उक्त महिला सम्पर्कमा आएको र उनले आफू नाताले चोलेन्द्र शमशेरको नातिनी बुहारी भए पनि बोलीचालीमा बुवा भन्ने गरेको बताएको उल्लेख गरेको छ। उनले विवाहपछि श्रीमानले सुनिधि नाम दिएको पनि बताएकी छन्।
उनले बताएअनुसार उनी चोलेन्द्रका दाइ शान्तिशमशेरकी नातिनी बुहारी हुन्। शान्ति शमशेरका नाति बरदान शमशेर राणाकी श्रीमती भएको उनले बताएको शिलापत्रले उल्लेख गरेको छ।
संवाददाता । मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित