सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार सरसफाई गर्दै उत्सव मनाईएको छ। वीरेन्द्रनगरमा सरसफाई गर्दै, गित, व्यानर लगायत विभिन्न माध्यमबाट सचेतना फैलाउदै ‘दशै सरसफाई उत्सव’ गरिएको हो।
‘क्लिन एण्ड ग्रीन सुर्खेत’ अभियान अन्तर्गत सुर्खेत उद्योग बाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका र वीरेन्द्रनगर नगरपालिका वडा नं ६ को आयोजना तथा अन्य संघ संस्थाको समन्वयमा भएको सरसफाई कार्यक्रम वीरेन्द्रनगरको मंगलगढीबाट सुरु भएर वीरेद्रचौक हुँदै पिपलचौतारा गएर समापन भएको थियो।‘क्लिन एण्ड ग्रीन सुर्खेत’ का अभियान्ता डा. नवराज केसीले फोहोर उठाउने उत्सव हरेक चाडपर्वको अगाडी मनाउनु पर्ने र फोहोर उठाउनु पनि उत्सव भएको बताए । फोहोरले महामारीको रुप लिएकोले यसको व्यवस्थापनमा सबैलाई एकजुट हुन आव्हान गर्न सहभागी सबैलाई धन्यवाद दिएका थिए।वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले यो अभियानलाई निरन्तरता दिनुपर्ने र सबैले सहयोग गर्न अपिल गरे। साथै फोहोर जथाभावी फालेको खण्डमा कानुन बमोजिम कार्वाही हुने बताउदै सरसफाइलाई ध्यान दिन नसके हाम्रो पहिचान हराउदै जाने र सफा सुन्दर नगर बनाउने यो अभियानबाट पछिल्लो पुस्तालाई पनि मार्ग निर्देश गरेको बताए।
सरसफाई उत्सवमा वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, विभिन्न संघ संस्था, विद्यार्थी, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो।
संवाददाता । शनिबार, असोज ०८, २०७९ मा प्रकाशित