सुर्खेत, असोज ९ । कर्णाली प्रदेशको आर्थिक विकासको एउटा क्षेत्र पर्यटन क्षेत्र हो । प्रदेश सरकारले पनि पर्यटन क्षेत्रलाइ प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । तर, भएका पर्यटकीय क्षेत्रहरूसमेत सदुपयोग गर्न सकिएको छैन ।
कतिपय पर्यटकीय स्थल संरचनाको अभावमा छन् भने कतिपय पर्यटकीय स्थल प्रचारको अभावमा ओझेलमा परेका स्थानीयले बताएका छन् । प्रदेशमा पर्यटकीय क्षेत्रको विकासका लागि संरचना निर्माण तथा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्न सरकाले ध्यान दिनुपर्ने बताएका छन् ।
कर्णाली मिडियासँग कुराकानी गर्दै, मुगुको छायानाथ रारा नगरपालिका १ का गजिन्द बहादुर मल्लले पर्यटकीय स्थलसम्म पुग्न सक्ने आवश्यक पूर्वाधारको विकास नहुदा आएका पर्यटकहरुलाई समस्या हुने गरेको बताएका छन् ।
उनका अनूसार पर्यटकीय गन्तव्यमा पुगेपछि पर्यटकले पाउने आवश्यक सुविधा छैन । एक पटक आएका पर्यटकहरु पनि ताल बाहेकका अन्य सेवासुविधा नहुदा फेरि फर्केर नआउने गरेको बताए ।
रारामा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले खासै ध्यान नदिइएको भन्दै, भौतिक पूर्वाधारको विकाससँगै स्थानीय खानाको गुणस्तरीय होटल र फोहोर व्यावस्थापन गर्नुपर्ने मल्लको भनाई छ ।
कर्णालीका ठुला होटलमा विदेशी पर्यटकको रोजाई हुन्थ्यो । दैनिक होटलमा भरिभराउ हुने पर्यटक पछिल्लो समय केहि फाटफुट रुपमा मात्रै विदेशी पर्यटक आउने गरका छन् भने आन्तरिक पर्यटकको आगमन पनि कम हुदा पर्यटक क्षेत्र सुनसान भएको छन् ।
यस्तै, होटल व्यवसायी संघले भने कोरोना महामारीको कारण प्रदेशका ३ सय होटल विस्थापित भएका जनाएका छन् । होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्क शाहीले घर भाडा तिर्न नसक्दा भएका होटल पनि अहिले दलदल अवस्थामा रहेका बताए ।
उनले पर्यटकको सुविधाका लागि भन्दै बैंक बित्तिय संस्था तथा सहकारीबाट करोडौ ऋण लिएर होटल व्यवसायमा लगानी गरेका होटल व्यवसायीले कोरोनाले पर्यटक आगमन बन्द भएपछि कसरी किस्ता तिर्ने भन्ने चिन्तामा रहेको बताए ।
शाहिका अनूसार कोरोना महामारीको कारण होटल ठप्प भएपछि कतिपयको रोजगारी संकटमा परेको छन् भने केहीले छोडेर नयाँ अवसरको खोजीमा निस्किएका छन् ।
यता, प्रदेश सरकारले भने मुख्य पर्यटकीय क्षेत्रसम्म पुग्नका लागि भौतिक पूर्वाधरको आवश्यक रहेकाले पूर्वाधार विकासलाई जोड दिइको जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विर बहादुर शाहीले स्थानीय स्तरमा धेरै पर्यटकीय स्थलहरू रहेका भन्दै ती क्षेत्रको अध्ययन–अवलोकन र बाह्य पर्यटकको आकर्षण बढाउन प्रदेश सरकार लागेको बताएका छन् ।
भावना राना । आइतबार, असोज ०९, २०७९ मा प्रकाशित