सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनीयन (अनेरास्ववियू) सुर्खेतले आयोजना गरेको ‘अखिल साँस्कृतिक साँझ’ कार्यक्रम असोज २९ गतेका लागि सारिएको छ।
असोज १० गते वीरेन्द्रनगरमा हुने भनिएको उक्त कार्यक्रम आयोजकले केही समय पछि सारेको हो। आयोजक अनेरास्ववियू सुर्खेतले आज पत्रकार सम्मेलन गरी बर्षा तथा प्रतिकुल मौसमका कारण सारिएको जानकारी दिएको छ। केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली सह–संयोजक प्रेम खड्काले आर्थिक विपन्नताका कारण शिक्षाबाट बञ्चित भएका विद्यार्थीलाई पढाइमा सहयोग गर्नेगरी अक्षय कोष ‘अखिल कोष’ स्थापना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए।
सुर्खेत सभा हल (सिटी हल)मा हुने साँस्कृतिक साँझमा राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याति कमाएका कलाकारहरुको सांगितिक प्रस्तुतिहरु रहनेछ। साँस्कृतिक साँझमा लोक गायक बद्री पंगेनी, भूमिका गिरी, राजा राजेन्द्र पोखरेल, बाल गायक किसन सिजापति तथा स्थानीय कलाकारहरुको बिजोड प्रस्तुति हुने अनेरास्ववियु सुर्खेतका अध्यक्ष आशिष आचार्यले बताए।
उनका अनुसार कार्यक्रम असोज २९ गते दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । साँस्कृतिक साँझ हेर्नका भिआइपि टिकट पाँच सय, दुई हजार र एक हजारको रहेको छ भने सर्वसाधारणका लागि एक सय रुपैयाँ टिकटको व्यवस्था गरिएको सचिव ललित केसीले जानकारी दिए।
संवाददाता । आइतबार, असोज ०९, २०७९ मा प्रकाशित