सुर्खेत । नेपालीहरूको महान् पर्व बडादसैं आजबाटसुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु भएको छ ।
धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको शुभसाइत तोकेको छ । फुर्सद हुने र साइत खोज्नेले बिहान १० बजेर २३ मिनेटकोे शुभ समयमा जमरा राखेर घटस्थापना गर्दा राम्रो हुने छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको पर्व दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ।
घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजा कोठामा घंैटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ ।
कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ, । त्यही नजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ ।
जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ ।
यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ ।
समितिका अनुसार असोज १९ गते बुधबार विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ । घटस्थापनाका दिन घरघरमा जौ मकै विधिवत् रूपमा रोपेर माझमा थापिएको कलशमा शैलपुत्रीको पूजाअर्चना गरिने चलन छ ।
यसैगरी, घटस्थापनादेखि नवरात्रभरि दुर्गा सप्तसधी र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ । मैसासुर, रक्तविज, चन्डमुन्डलगायतका असुरको बध गरेकी दुर्गे भवानीको पूजा विर्सजन पूर्णपात्रो र दक्षिणा संकल्प गरी समापन गर्ने चलन रही आएको छ ।
संवाददाता । सोमबार, असोज १०, २०७९ मा प्रकाशित