Karnali Media
२०८३ असार २ , मंगलबार

मनाङको फापर खेती पर्यटकको आकर्षक केन्द्र बन्दै



समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिवेला फापर खेतीले सबैको मन तानेको छ । तल्लो क्षेत्रको नासों-१, ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ-९, खाङसारसम्म फापरखेती फैलिएको देख्न सकिन्छ।

स्थानीयले प्रायः जेठ अन्तिम साता र असारमा बीउ छर्ने गर्छन् भने भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज अन्तिम साता र कात्तिकमा काटेर थन्क्याउने गरिन्छ । मनाङको मनाङ ङिस्याङ, चामे, नासों गाउँपालिका साथै नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्र नार र फू बस्तीबाहेक तल्लो क्षेत्रमा फापरखेती राम्रो हुने स्थानीय विनोद गुरुङले बताए । निस्याङ भ्यालीले चिनिएको माथिल्लो मनाङमा यसको खेती बढी हुने गरेको छ ।


अन्नपूर्ण पदमार्ग भएकाले यहाँका धेरैजनाले होटेल सञ्चालन गर्दै आएका छन् । पर्यटकले फापरको परिकार मात्रै नभएर फापरखेतीलाई पनि मन पराउने गरेका छन् । तराईमा तीतेफापर र हिमालमा मिथेफापरको खेती हुने गर्छ । मनाङको लोभलाग्दो फापरखेती हेर्न आन्तरिक र बाह्य पयर्टकहरू आउने गर्छन् । (न्युज कारखाना)

प्रकाशित मिति : २०७९ असोज १० गते सोमबार