सुर्खेत । सल्यानको कपुरकोटमा जिप दुर्घटनामा मृत्यु भएका सबै ८ जनाको पहिचान खुलेको छ। बाँकेको ढकेरीबाट छुटेको जिप राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानी नजिक बुधबार बिहान साढे ३ बजे दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो।
सल्यान प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा धेरैजसो कपुरकोट गाउँपालिका वडा नम्बर ६ का छन्। जसमा जिप चालक जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओली छन्। यस्तै, कपुरकोट गाउँपालिका ६ कै ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र कपुरकोट गाउँपालिका ५ का ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।
दुर्घटनामा परेको रा १ ज ५६३ नम्बरको जिपमा जम्मा ९ जना सवार थिए। तीमध्ये एक जना घाइते भएका छन्। दुर्घटनामा घाइते कपुरकोट ६ का ३५ वर्षीय तिलक ओलीको उपचार प्रादेशिक अस्पताल (दाङ तुलसीपुर) मा भइरहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको हो।
संवाददाता । बुधबार, असोज १२, २०७९ मा प्रकाशित