दैलेख । गृह मन्त्रालयले साउन २३ गते एक विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी जारी भए/गरिएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएसँगै दैलेख प्रशासनमा अपमानित नाम सच्याउनेको संख्या बढ्दै गएको छ ।
गृहले जिल्ला प्रशासनलाई अपमानजनक नाम सच्याउन निर्देशन दिएयता जिल्ला प्रशासन कार्यालय, दैलेखबाट चारजनाले नयाँ नामसहितको नागरिकता प्राप्त गरेका छन् । जिल्लाको भगवतिमाई गाउँपालिका–३ मेहेल्तोलीका ‘कुकुर’ कामी, साेही गाउँपालिकाका–५ का ‘ठगे’ कामी र दुल्लु नगरपालिका नगरपालिका–१ का ‘फ्याउरा बादीले नयाँ नामसहितको नागरिकता प्राप्त गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले नागरिकतामा रहेको ठेगाना, नागरिकता नम्बर, बाबुको नाम, नागरिकता जारी भएको मिति पुरानै कायम गरी सम्मानजनक नाम उल्लेख गरी नागरिकताको प्रतिलिपि दिइएको बताए । उनले ‘कुकुर’ नामथर भएका दुईजनमध्ये एक जनाको ‘काशीराम’ कामी र अर्कोलाई ‘कविराम’ कामी, ‘ठगे’ कामीलाई ‘कर्ण’ बहादुर कामी र ‘फ्याउरो’ बादीलाई ‘फणीन्द्र’ बादीको नामबाट नागरिकता प्रदान गरिएको बताए ।
२०१७ सालमा जन्मिएका भगवतिमाई गाउँपालिका कविराम कामीले २०४६ साल जेठ ७ गते नागरिकता बनाउन गाउँ गएको नागरिकता टोलीले कुकुर कामी राखिएको बताए । उनले आफू सामान्य लेखपढसमेत गर्न नजानेका कारण के नाम राखियो भन्ने थाहा भएन पछि अरूले भनेपछि नामले अपमानित हुनु परेको बताए । उनलाई तत्कालीन नागरिकता टोली प्रमुख दुर्गाप्रसाद गिरीले प्रमाणित गरी नागरिकता प्रदान गरेका थिए । उनी नाम सच्याएर नागरिकता पाउने दैलेखका पहिलो व्यक्ति हुन् ।
अपमानित नाम संशोधन गरी भगवतिमाई गाउँपालिका– ५ का ठगे कामीलाई पनि नयाँ नामसहितको नागरिकता प्रदान गरिएको छ । २०३५ सालमा जन्मिएका ठगे कामीले २०५६ साल चैत्र २० गते नागरिकता प्राप्त गरेका थिए । उनले कक्षा सातसम्म पढेको भए पनि तत्कालीन द्वन्द्वका कारण शैक्षिक योग्यता प्रमाणपत्र राख्न नपाएर बनाएको नागरिकतामा ठगे कमी उल्लेख गरिएको थियो।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
उनले आफ्नो नाम कर्णबहादुर कामी भएको भन्दै नागरिकता सच्याउन निवेदन दिएको भए पनि जिल्ला प्रशासनले उक्त प्रमाणका आधारमा नागरिकता दिन नसकिने बताएपछि पढेको विद्यालयबाट प्रमाण मगाएर कर्णबहादुर कामीको नामबाट नागरिकता प्रदान गरिएको छ।
२०१३ सालमा जन्मिएका कुकुर कामी नाम (संशोधन) काशीराम कामी राखिएको दैलेख प्रशासनले जनाएको छ । २०५९ साल पुस १७ गते तत्कालीन प्रमुख जिल्ला टेकराज ज्ञवालीले प्रमाणित गरेको नागरिकतामा उनको नाम कुकुर कामी उल्लेख गरिएको थियो । उनको नामसँगै छोरा हस्त बहादुर कामी र सञ्जीव कामीको नागरिकतामा बुवाको नाम सच्याएको छ । २०४० जेठ २ गते जन्मिएका फणीन्द्रले नयाँ नामसहितको नागरिकता पाएका छन्।
प्रशासनको अभिलेखअनुसार फणीन्द्रले पहिलो प्रतिलिपि २०७५ वैशाख २५ गते पुरानै नाममा लिएका थिए । अहिले अपमान बोधक नामको सट्टा फणीन्द्र बादी नाम बनाएर दोस्रो प्रतिलिपि दिइएको निवर्तमान प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाइ छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी टेकराज ज्ञवालीले २०६० जेठ ९ गते प्रमाणित गरेको नेपाली नागरिकतामा उनको नाम ‘फ्याउरो’ बादी उल्लेख थियो । उक्त नामले आफूलाई अपमानबोध भएको भन्दै फणीन्द्रले सच्याइदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । उबेला नै नाम नराखी दिन आग्रह गर्दा पनि गाविस सचिवले गरेको सिफारिसका आधारमा नागरिकतामा अपमानित नाम लेखिएको उनको भनाइ छ।
अपमानित नाम भएकाहरूले भने, ‘गाउँ समाजका समूहमा नाम राख्दा, मतदान गर्न र बैंकमा खाता खोल्न जस्ता काममा नागरिकता चाहिँदा नागरिकता देखाउन गाह्रो लाग्थ्यो ।’ नागरिकतामै ‘कुकुर’ फ्याउरो लेखिएका कारण अपमानित महसुस भएपछि नाम सच्याएर नागरिकतापाउदा खुसी लागेको उनीहरूले बताएका छन्।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित