सुर्खेत । लगातारको अविरल बर्षा संगै कर्णाली प्रदेशका बिभिन्न ठाउँमा गएको बाढी पहिरोमा परी ३३ हालसम्म जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै जुम्लामा ९ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवम प्रहरी वरिष्ट उपरिक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए।
मुगुमा ८ जना, कालिकोटमा ४, हुम्लामा ४ जना, जाजरकोटमा ३, डोल्पामा २, सल्यानमा २ र दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुर्खेत र रुकुम पश्चिममा भने मानविय क्षती नभएको प्रहरीको भनाई छ।
२२ जना अझै बेपत्ता रहेको र उनिहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए। बेपत्ता हुनेहरु सबैभन्दा धेरै कालिकोटका एक प्रहरी जवानसहित २० जना रहेका छन भने जुम्लाका २ जना र दैलेखका १ जना रहेका छन।
यसैबिच, बाढी पहिरोमा परि प्रदेशभर २१ जना घाईते भएको विवरण प्रहरीको तथ्याङ्कमा छ। जस अन्तरगत कालिकोटका मात्रै ७ जना छन भने मुगु र हुम्लाका ५-५ जना घाईते भएका छन । यसैगरी, जुम्लाका २, रुकुम पश्चिमका १ जना र जाजरकोटका १ जना घाइते भएको र उनिहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।
सयौँ घरपरिवार विस्थापित
ल्गातारको बर्षाका कारण कर्णाली प्रदेशभर ४ सय ८० घर परिवार विस्थापित भएका छन। प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा धेरै दैलेखमा १ सय ३ घर परिवार विस्थापित भएका छन। यस्तै, मुगुका एक सय ७८ घरपरिवार विस्तावित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका ९, सुर्खेतका ८ घरपरिवार विस्थापित भएका हुन।खडोल्पाका ४ घरपरिवार विस्तावित हुँदा जाजरकोट र रुकुम पश्चिमका २÷२ घरपरिवार विस्थापित भएका छन।
प्रभावित जिल्लाहरुमा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत सुरक्षाकर्मी परिचालन गरी उद्दार र राहत कार्य भईरहेको प्रवक्ता श्रेष्ठले बताए। घरक्षती र बिस्थापितलाई लागि प्रदेश सरकारले राहत पठाउने प्रक्रियामा शुरु गरेको जनाएको छ। घाईतेहरुको उद्दारको लागि हेलिकप्टर परिचालन भईरहेको जनाइएको छ।
संवाददाता । मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित