सुर्खेत । ग्रामिण जागरण बचत तथा ऋण सहकारी संस्था लि को २५ औं बार्षिक साधारणसभाको शनिबार वीरेन्द्रनगरमा सुरु भएको छ । कार्यक्रममा आर्थिक बर्ष २०७८–०७९ को प्रगती बिबरण तथा संस्थाका गतिबिधी र आर्थिक बर्ष २०७९–०८० को प्रस्तावित बजेट पेश गरिएको छ ।
यो साधारणसभाबाट संस्थाको नयाँ नेतृत्त्वको पनि चयन हुनेछ । २०५४ साल फागुन १८ गते २ लाख ५५ हजार सेयर पूँजीबाट वीरेन्द्रनगरमा स्थापना भएको यस सहकारी संस्थाले २५ बर्षको अवधिमा करीब २३ करोड पूँजी संकलन गरिसकेको छ । सहकारीबाट समाजको आर्थिक समृद्धिमा समहत्वपूर्ण सहयोग पुर्याउने उदेश्यले यस सहकारीले सेयर सदस्यको थोरै थोरै रकम बचतमा लगाउन अभिप्रेरीत गरि आर्थिक स्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको छ ।बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी वीरेन्द्रनगर नगरपालिका प्रमुख तथा संस्थाको सेयर सदस्य मोहनमाया ढकालले समाज रुपान्तरणको अभियानमा आफ्नो पहिचान बनाउँन सफल भएकोमा संस्थालाई शुभकामना व्यक्त गरिन । यस्तै उनले सहारी सबैको साझा थलो भएको र यहाँ भावना, योजना र आर्थिक अवस्था मिल्ने सबैले आफुसँग भएको सानो सानो रकम जम्मा गर्ने र जसले आर्थिक समृद्धि ल्याउने बताईन । सहकारीको साझा उदेश्य समाजको बिकासमा महत्वपूर्ण योगदान दिने र सेयर सदस्यको आर्थिक समृद्धि भएकोले सहकारीहरुले आर्थिक क्रियाकलापमा जोड दिनुपर्ने उनको भनाई छ ।
यस्तै, कार्यक्रममा शुभकामना मन्तव्य राख्दै ग्रामिण जागरण बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार समिती सदस्य पुर्ण प्रसाद पौडेलले छोटो समयमा हाँसिल गरेको महत्वपूर्ण उपलब्धिका लागि संस्थालाई शुभकामना दिदै, प्रतिस्पर्धाको बजारमा संस्था व्यावसायिक र सेयर सदस्यमुखी हुनुपर्ने बताए । ग्रामिण जागरण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा उद्घाटन कार्यक्रमका अध्यक्ष वुद्धि प्रसाद सापकोटाले संस्थाका सबै सदस्यहरुलाई धन्यवाद दिदै सबैको माया र साहानुभुतीले संस्था यहाँसम्म आईपुगेको बताए ।
संवाददाता । शनिबार, असोज २९, २०७९ मा प्रकाशित