सुर्खेत । चाडपर्वमा हुनसक्ने अखाद्य बस्तुको बिक्री वितरण रोक्न उपभोक्तालाई स्वस्थ तथा गुणस्तरीय खाद्य उपलब्ध गराउन सुर्खेतका विभिन्न स्थानमा बजार अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले चाडपर्वलाई लक्षित बजार अनुगमन गर्दै आएको छ। यसै क्रममा शनिबार पनि सुर्खेतको भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिकाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकाका छिन्चु, जहरे क्षेत्रका ४५ वटा होटल, मिठाई पसल, किराना एवं डिपार्टमेन्ट स्टोर, खाद्य उद्योगसँगै एग्रोभेट तथा दाना उद्योगमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले जानकारी दिए।बजार अनुगमनका क्रममा ३५ हजार मूल्य बराबरको खान अयोग्य मिठाई, जेरी तथा लेवल विवरण उल्लेख नखुलेको चाउमिन नष्ट गरिएको छ। पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीसहितको अनुगमनका क्रममा अधिकांश दर्ताबिना व्यवसाय सञ्चालन गरेको भेटिएको साथै छिन्चुका आधा दर्जन मिठाई पसलबाट २० किलो बढी ढुसी लागेको मिठाई, खान अयोग्य बस्तु मिसाएर राखिएको, खराब तेलको प्रयोगजस्ता भेटिएको प्रमुख थापाले बताए ।यस्तै अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले तीन वटा उद्योग सिल गरेको छ । कार्यालयले शनिबार भेरीगंगा नगरपालिकाका दुई र गुर्भाकोट नगरपालिकाको एउटा उद्योग सिल गरेको हो । पटक–पटक कार्यालयले दिएको निर्देशन पालना नगर्ने, विना लेबलका चाउमिन तथा बेकरीजन्य वस्तुहरु उत्पादन तथा विक्री वितरण गरिरहेको पाईएपछि बाध्य भएर उद्योग सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिए।
अनुगमनका क्रममा भेरीगंगा नगरपालिकामा शिवशक्ति चाउमिन उद्योग छिन्चु र एभरेष्ट बेकरी उद्योग जहरेको उत्पादन तथा विक्री वितरण गर्न पूर्ण रोक लगाईएको छ। अनुगमनकै क्रममा गुर्भाकोट नगरपालिकामा मापदण्ड विपरितको सीता चाउमिन उद्योगको उत्पादन तथा विक्री वितरणमा समेत पूर्ण रोक लगाईएको छ। ती उद्योगहरुले कार्यालयले दिएको निर्देशन अनुसार आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र सञ्चालन गर्न दिईने छ ।
संवाददाता । सोमबार, असोज ३१, २०७९ मा प्रकाशित