सुर्खेत, असोज ६ । सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका सात जिल्लाका करिब तीन सय मतदानस्थल अति संवेदनशील मानिएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेशसभार प्रतिनिधिसभाको निर्वाचनका लागि दुई सय ६७ वटा मतदानस्थल अति संवेदनशील मानिएका हुन् ।
जिल्लाका निर्वाचन सुरक्षा समितिहरुले तयार पारेका प्रतिवेदनका अनुसार सबैभन्दा बढी अति संवेदनशील मतदानस्थल कालिकोटमा रहेको छ । कालिकोटमा ७४ वटा मतदानस्थल अति संवेदनशील मानिएका छन् ।
त्यसमध्य, सल्यानमा ६३ वटा मतदानस्थल, दैलेखका ४८ वटा, सुर्खेतका २० वटा मतदानस्थल, रुकुमपश्चिमका २१ वटा, डोल्पामा २३ वटा र जाजरकोटका १८ वटा मतदानस्थल अति संवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिहरुले जनाएका छन् ।
त्यस्तै, जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तिन सय २५ वटा मतदानस्थल संवेदनशील रहेका छन् ।
जसमध्य, सुर्खेतका ६ वटा, दैलेखका ६२ वटा, सल्यानका ३ वटा, रुकुमपश्चिमका ४३ वटा, डोल्पाका २६ वटा, कालिकोटका २८ वटा र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन् ।
यस्तै, प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य रहेका छन् । कर्णालीका अन्य तिन जिल्ला जुम्ला, मुगु र हुम्लामा भने विपतका कारणले गर्दा अहिले मतदानस्थलको अवस्था बुझ्न नसकिएको बताएका छन् ।
अबको केही दिनमै मतदानस्थलको अवस्थाका बारेमा जानकारी लिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन् ।
कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर ९ सय ३३ वटा मतदानस्थल र एक हजार ४ सय ३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
आयोगका अनुसार कर्णालीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेशभर दश लाख ८ हजार ४ सय ३ जना मतदाता रहेका छन् ।
कर्णालीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्र पारिएको छ ।
यता, निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्थालाई कडाई गर्नेगरी तयारी गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिहरुले बताएका छन ।
समितिका संयोजक समेत रहनुभएका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले अति संवेदनशिल र संवेदनशिल निर्वाचन केन्द्रको लागि सुरक्षा व्यवस्था मजबुद बनाईने बताएका छन् ।
संवाददाता । आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित