Karnali Media
२०८३ असार २ , मंगलबार

आज भाइटिका, साइत ११ बजेर ३७ मिनेटमा



सुर्खेत, १० कात्तिक । आज तिहारको मुख्यदिन अर्थात भाइटिका । भाइटिकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पंचांग निर्णायक समितिले जनाएको छ ।

भाइटिकाका दिन सप्तरङ्गी टीका, मखमली फूलको माला लगाइदिएर सेल रोटी, अनर्सा, मिठा स्वादिला मरमसला लगायतका खानेकुराहरूसहित आज दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन छ । यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौँ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजुलाई यसै गरी टिका लगाउन र पुज्न पाउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किम्बदन्ती रहेको छ ।

दिदी–बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरू दिएर दसैँ पश्चात् दाजुभाइलाई भाइटिकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजुभाइहरू आज दिदीवहिनीसंग टिका लगाउँदछन् ।
टिका लगाउनु पूर्व दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्नका लागि भूँईमा चकटी ओछ्याएर बसेको ठाउँ वरिपरि कलशमा तेल–पानी राखेर हरियो दुवोबाट पातलो धारा बगाउँदै पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ ।
त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भुटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेष गर्दै पूजा गर्दछन् । यमराजको प्रतीक मानेर बिउरा फलको पूजा गरिसकेपछि, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाइ ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य अनि दिर्घायूको कामना गर्ने चलन छ ।

शिरमा तोरीको तेल लगाएर दाजुभाइको कपाल कोरेर अनि सप्तरङ्गी टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टिका लगाइदिन्छन् । सप्तरङ्गी टिकाको कला एक अर्काको निधारमा सप्रेम लगाइसकेपछि दिदीबहिनीहरू आफ्नो गक्ष अनुसारको फलफूल, नैवेद्य, मरमसला दाजुभाइलाई प्रदान गर्दछन् भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरू दिदीबहिनीको पाउमा राखेर ढोग्दछन् ।


आजको दिन अधिकांश निधारहरू सप्तरङ्गी हुन्छन्, दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ । यस्तै नेवार समुदायमा आजै किजा पूजा पनि मनाइदैछ ।

विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवाः समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटिका मनाउँदै आएका छ ।

कृषि प्रधान नेवा समुदायमा यो तीन दिनको चाड स्वस्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरिको हिसाब–किताब सम्पन्न गर्ने अर्थात् साल तमाम गर्नुका साथसाथै आफ्नो शरीर लाई पूजा गरी नयाँ वर्षका लागि सङ्घर्ष गर्दै अगाडी बढ्न का लागि आवश्यक पौष्टिकता ग्रहण गर्ने पर्वको रूपमा लिएको पाइन्छ ।

यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरी मण्डप लेख्ने गरिन्छ । पञ्चतत्वको सौगन दिनेदेखि पूजा गर्ने र आफ्नो भाइको दीर्घायुको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदीबहिनीबिचको आत्मियताका लागि यो पर्व नेवा समुदायमा प्रसिद्ध छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १० गते बिहीबार