गोरखा । प्रतिनिधि सभाको दुई र प्रदेश सभाको चार निर्वाचन क्षेत्र रहेको गोरखामा मतदानका लागि सबै तयारी पूरा भएको छ। मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि गोरखाका दुई सय २२ मतदानस्थल र तीन सय १७ वटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर चुनावको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकामा झन्डै एक हप्ता हिँडेर मतदान अधिकृत, कर्मचारी सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । चुमनुब्री गाउँपालिका–१ को सामागाउँको साम्दो पुग्न झन्डै एक हप्ता लाग्ने गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । विकट चुमनुब्री गाउँपालिकामा २२ वटा मतदान केन्द्र छन् । जिल्लाभित्र चुनाव शान्तिपूर्णरूपमा सम्पन्न गर्न तीन वटा घेरामा सुरक्षा संयन्त्र परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिए । हरेक मतदान स्थलमा पाँच जना र मतदान केन्द्र दुई वटा भए थप दुई जनाका दरले नेपाल प्रहरी परिचालन गरिएको उनले बताए ।
मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ, प्रमुख जिल्ला अधिकारी आर्चायले भने, त्यसभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरीको टोली रहनेछ भने तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ ।
प्रमुख जिल्ला अधिकारी आर्चायले जिल्लाभित्र चुनाव भयरहित, शान्तिपूर्ण र मर्यादित ढङ्गबाट सम्पन्न गर्नका लागि आवश्यक सबै व्यवस्था मिलाइएको बताए ।
उनले ७६ ठाउँमा नेपाली सेना र २० ठाउँमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिए । आवश्यक परेको खण्डमा १० मिनेटभित्रमा नै पुग्नसक्ने गरी नेपाली सेना र सशस्त्र प्रहरी खटिएको उनको भनाइ छ ।
गोरखाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एक लाख १५ हजार तीन सय ९७ मतदाता छन् । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एक लाख पाँच हजार दुई सय ४० मतदाता छन् । रासस
संवाददाता । शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित