सुर्खेत । समाचार फिचर लेखनसम्बन्धी ४ दिने प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिती काठमाडौंको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतको संयोजनमा विरेन्द्रनगर सुर्खेतमा समाचार फिचर लेखनसम्बन्धि प्रशिक्षण गरिएको हो ।
मंगलबारबाट सुरु भएको तालिममा आधारभुत पत्रकारिता तालिम लिएका करिब ३० जनाको सहभागिता थियो । समाचार फिचर लेखन सम्बन्धि ४ दिने कार्यक्रमको प्रशिक्षण पत्रकार चिरन्जीवी अर्यालले गर्नुभएको थियो । उहाँले ४ दिनसम्म समाचार फिचर लेखनका बिभिन्न पक्षका बारेमा जानकारी दिनुभएको थियो । सहभागी मध्ये ६० प्रतिशतले फिचर लेख्न सक्ने भएको उहाँले बताउनुभयो ।
यस्तै, कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकार सुरक्षा, लैङ्गीक समावेशिता र समताका बिषयमा विशेष प्रशिक्षण पनि दिनुभएको थियो ।
प्रशिक्षणमा सहभागिलाई प्रमाणपत्र प्रदान गरि कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले समाचार फिचर लेखनका लागि ४ दिने तालिमले मात्र पर्याप्त नभएको र आगामि दिनमा पनि पत्रकार महासंघले यस्ता कार्यक्रम आयोजना गर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ सुर्खेत शाखा उपाध्यक्ष सुदिप पुरीले कार्यक्रमले सहभागिहरुको क्षमता बिकासमा सहयोग पुर्याएको बताउनुभयो । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा सचिब ललित बुढाले गर्नुभएको थियो ।
संवाददाता । शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित