सुर्खेत । चालु आर्थिक बर्षको हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट अनुसन्धान भई कर्णाली प्रदेशबाट भ्रष्टाचारका २१ मुद्दा विशेष अदालतमा दायर भएका छन् ।
गएको आर्थिक बर्षमा कर्णालीबाट १२ मुद्दा विशेष अदालतमा दायर भएकोमा यो बर्ष हालसम्म मुगुबाट ७, कालिकोटबाट ४, सुर्खेतबाट ४, सल्यानबाट ३ साथै दैलेख, जुम्ला र हुम्लाबाट १—१ गरी २१ मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश सुर्खेतका उपसचिव भेषराज रिजालले बताए ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सुक्रवार सहकर्मी समाजले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसचिव रिजालले लोकतन्त्र र बिभिन्न शासन कमजोर हुनु भ्रष्टाचारको मुख्य कारण रहेको बताए । गत सालको रिपोर्टमा दक्षिण एसियामा नेपाल धेरै भ्रष्टाचार हुने मुलुकको सूचिमा ३३ अंकसहित ५ औं स्थानमा रहेको बताउदै उनले सार्वजनिक खरिद, उपभोक्ता समिती, प्रशासनिक कार्य, सामाजिक सुरक्षा, छात्रवृति र प्राकृतिक स्रोत साधन सम्बन्धि मुद्दाहरु धेरै आउने गरको बताए ।
यस कार्यालयबाट हालसम्म विस्तृत अनुसन्धान गर्न २२५ उजुरी तोकिएकोमा ४५ उजुरीको अनुसन्धान सम्पन्न गरी आयोगमा पेश भएको र १८० उजुरीमा विस्तृत अनुसन्धान भैरहेको तथा बाँकि रहेका छन् ।
संवाददाता । शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित