सुर्खेत । नेकपा एमाले लगायतका दलहरुको सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएसंगै कर्णालीमा पनि अबको मुख्यमन्त्री को बन्ने भन्ने बिषय चर्चामा आएको छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका १३ र नेकपा एमालेका १० जना सांसद छन् । यसर्थ कर्णालीमा माओवादी तथा एमाले बहुमतकोे सरकार बन्ने देखिन्छ । काँग्रेस–माओवादी मिलेर निर्वाचनमा गएको साथै मिलेर सरकार बनाउने तयारी भैरहेको भए पनि केन्द्रमा सहमति नजुट्दा कर्णाली प्रदेशमा को मुख्यमन्त्री बन्ने भन्ने कुरा सतहमा आएको छ ।
नेकपा एमालेबाट मुख्यमन्त्रीका लागि यामलाल कंडेल बलियो दाबेदार हुन् । यस्तै माओवादी केन्द्रबाट राज कुमार शाही र बिन्दमान बिष्टको चर्चा छ । तसर्थ कर्णालीमा एमालेको नेतृत्त्वमा सरकार बनेमा कंडेल र माओवादीको नेतृत्तवमा सरकार बनेमा राज कुमार शाह र बिन्दमान बिष्ट मध्ये एक मुख्यमन्त्री बन्नेछन् । यदपि कस्को सरकार बन्ने भन्ने कुरा केन्द्रको निर्णयमै भर पर्ने देखिन्छ ।
हाल काँग्रेसका जीवन बहादुर शाही मुख्यमन्त्री छन्। काँग्रेस र माओवादीको सरकार भएको खण्डमा आफू नै दोहोरिने शाहीले दावी गरेका थिए । तर केन्द्रमा सहमति नजुट्दा सबैभन्दा धेरै सिट जितेर पहिलो दल बनेको नेपाली काँँग्रेस प्रमुख प्रतिपक्षीको भुमिकामा रहने देखिन्छ ।
संवाददाता । आइतबार, पुष १०, २०७९ मा प्रकाशित