हुम्ला, १२ पुस । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले कर्णाली प्रदेशका हिमाली जिल्लामा उडान थप गरेको छ । निगमले कर्णालीका चार जिल्लामा उडान थप गरेको हो ।
निगमको क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठले यात्रुको चाप वृद्धि र भरपर्दो सडक यातायात नभएका कारण उडान थप्नुपरेको बताए ।
हुम्ला जिल्ला हालसम्म सडक यातायात नजोडिएको जिल्ला हो । हुम्लाको सिमकोटमा सातामा दुई उडान भइरहेकामा एक उडान थप गरिएको छ । सिमकोटका लागि आइतबार, सोमबार र मङ्गलबार उडान हुनेछ । अन्य चार जिल्लामा सातामा एक उडान भइरहेकामा अब दुई उडान हुनेछन् ।
नेपालगञ्जबाट जुम्ला सोमबार र मङ्गलबार, मुगुको ताल्चा आइतबार र मङ्गलबार तथा डोल्पाको जुफालमा सोमबार र बुधबार उडान हुने श्रेष्ठले जानकारी दिए ।
यसअघि निगमको जहाज हप्तामा एक रात नेपालगञ्जमा रहँदै आएकामा अहिले भने तीन दिन बस्दै आएको छ ।
संवाददाता । मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित