दैलेख । आजबाट दैलेखको दुल्लु अस्पतालमा अप्रेसन सेवा सुरु भएको छ। अप्रेसन थ्रियटरको संचालनको लागि सम्पूर्ण तयारी पूरा भएपछी सोमबार विधिवत् रुपमा अप्रेशन सेवा सुरु भएको हो।
अप्रेसन थ्रियटर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माननीय सीता राना, विशेष अतिथि माननीय घनश्याम भण्डारी, विशेष अतिथि जिल्ला समन्वय समिती दैलेख प्रमुख नमराज शाही, दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजाल तथा कार्यालय प्रमुखहरू, स्थानीय राजनितिक दलका नेता तथा स्थानीयको सहभागीता थियो। कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य घनश्याम भण्डारीले अप्रेसन सेवाले नागरिकको स्वास्थ सेवा लिन सहज हुने बताए। दुल्लु अस्पतालमा अप्रेरसन सेवा सुरु गर्न एक बर्ष अघि देखि नै काम सुरु गरेको बताउँदै उनले भने, ‘भौतिक पूर्वाधारको अभावमा अप्रेसन सेवा सुचारु गर्न ढिलाई भएको र अहिले अस्पतालका दुई भवनलाई एकै ठाउँमा जोडेर अप्रेसन कक्ष तयार पारेको बताए ।
दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले अप्रेसन सेवा सुचारु गर्न सहयोग गर्ने संघीय, प्रदेश सरकार लगायत सबैलाई आभार व्यक्त गर्दै यसको सुरक्षा,सम्बर्द्धन र विकासका लागि सबै को सकारात्मक सहयोग र सल्लाह आवश्यक रहेको बताए।
विशेषज्ञ डा. राजन नारायण नकर्मी सहितको टिममा डा. शिशिर सौरभ, डा. मनोज विश्कर्मा डा. आशिष माक, एनेस्थेशिया कृष्ण जोशी, स्कर्बमा नर्सिङ मनिता अधिकारी, ज्ञानमणि थापा ,समीर कुमार खत्री लगायतको टिमले अस्पतालबाट अप्रेसन सेवा प्रदान गर्नेछ । अप्रेसन सेवा दुल्लु अस्पतालमा नै पाउने भएपछि स्थानियहरु हर्षित भएका छन् । अब दुल्लुमा नै स्थानियले अप्रेसन सेवा पाउने भएपछि यहाँका नागरीकलाई सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने समस्या अन्त्य हुनेछ ।
संवाददाता । सोमबार, पुष १८, २०७९ मा प्रकाशित