सुर्खेत । महिला माथि हुने हिंसा र विभेद हटाउने गरी आफुहरुले सशक्त भुमीका निर्वाह गर्ने कर्णाली प्रदेशसभामा निर्वाचित महिला सांसदहरुले बताएका छन् । महिला तथा बालिकामाथि हिंसाका घटना कम हुन नसकेको भन्दै लैंगिक न्यायका लागि आफुहरुले सशक्त भुमीका निर्वाह गर्ने उनिहरुले बताएका हुन् ।
महिलाका विषयमा कुरा गरेर मात्र कुनै समाधान हुन नसक्ने भन्दै संसदमा महिलाका मुद्दालाई सक्रियतापूर्वक उठान गर्ने उनिहरुको भनाई छ ।
सुर्खेतबाट निर्वाचित प्रदेश सभा सदस्य सन्तोषी शाही ठकुरीले लामो समय देखि महिलाहरु माथी बिभिन्न खाले अन्याय,अत्याचार,शोषण र बिभेद हुदै आइरहेको बताईन्। उनले भनिन, ‘नेपाल पुरुष प्रधान देश भएकै कारणले होला महिला माथि हरेक किसिमबाट दमन भइरहेको छ। २१ औं शताब्दिमा पनि महिलामाथि घरेलु हिंसा,दमन, अन्याय र बलत्कार घटनाको सिकार हुनु परिरहेको छ। राज्यले कानुन बनाउँछ तर कार्न्वयन पक्ष अत्यन्तै फितलो हुन्छ ।’ उनले विशेषगरि दुर्गम पहाडि जिल्लाहरुका महिला दिदिबहिनीहरुको पिडा व्यथा र कथा दयनिय र कहालिलाग्दो रहेको बताउँदै यस्तो बिभेदकारी अन्यायपूर्ण व्यावहार सहेर बाचिरहेका दिदीबहिनीहरुको न्यायको लागि प्रदेश सभामा आवाज उठाउने, कानुन तथा निती बनाई कार्यान्वयन गर्ने र महिला स्वरोजगार तथा सशक्तिकरणका कार्यक्रमहरुमा जोड दिने उनको भनाई छ ।
यस्तै, कालिकोटबाट निर्वाचित प्रदेश सभा सदस्य यसोदा न्यौपानेले शिक्षा र स्वास्थ्यमा महिलहरुको पहुँच पुग्न नसकेको भन्दै सदनमा निति निमार्ण गर्ने क्रममा महिलाका एजेण्डालाई शसक्तरुपमा उठान गर्ने प्रतिबद्धता जनाएकी छन् । सद्नमा महिलाका सवाल, सामाजिक विषय र महिलाका मुद्धामा एकजुट भएर अगाडि बढ्ने उनले बताईन् ।
सर्खेतबाटै निर्वाचित प्रदेश सभा सदस्य जानकी सिहंले महिलालाई आर्थिक लगायत विविध कारण कठिनाइ भएको भन्दै महिलाहरुको आर्थिक सशक्तिकरणको आवाज उठाउने बताईन । उनले प्रदेशमा अझै पनि महिला विरुद्ध हुने सबै प्रकारका हिंसा र भेदभाव अन्त्य नभएको भन्दै आगामि दिनमा महिला उद्यमशिलता विकास र आत्मनिर्भरता बनाउन जोड दिने बताएकी छन् ।
विगतदेखि महिलामाथि भइरहेको सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैतिक विभेद हुँदै आएको छ । यसको अन्त्यको लागि सबै एकजुट भएर काम गर्ने महिला सांसदहरुले प्रतिवद्धता गरेका छन् ।
भावना राना । मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित