Karnali Media
२०८३ भदौ १५ , सोमबार

आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा



काठमाडौं, ८ माघ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष शुरु हुन्छ।

आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।


ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ। यसपर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घरघरलगायत सार्वजनिक स्थानमा दर्ज्यू गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र भेटघाट र सामूहिक भोज तथा साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन्।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतबार