तस्बिर : कर्णाली मिडिया
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवा छिटो छरितो र सरल बनाउनका लागि कार्यालयमा आउने सेवाग्राहीलाई आजदेखि टाइमकार्ड लागु गरेको छ । सेवा लिन कार्यालयमा आउने सेवाग्राहीलाई सेवाका आधारमा टाइमकार्डको व्यवस्था गरेको हो।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले प्रशासन कार्यालयबाट नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, राहादानी, प्रशासन शाखाबाट दिइने बिभिन्न सेवाहरु, हातहतियार नविकरण र राष्ट्रिय परिचयपत्र वितरणमा सहजता ल्याउन गृहमन्त्रीको निर्देशन अनुसार टाइमकार्ड लागू गरिएको बताए । राहदानीका लागि सबै कागजात पुरा गरेको खण्डमा एक घण्टामा, बिभागबाट प्रिट भएर आइसकेको राहदानी १५ मिनेटमा र बिभिन्न किसिमका सिफरिस, नागरिकता, नाबालक परिचयपत्र लगायतमा सबै प्रक्रिया पुरा गरेको खण्डमा एक घण्टामा सेवा प्राप्त गर्न सकिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
जयकलाले लिइन् टाइमकार्डको पहिलो सेवा
आजबाट सुर्खेत प्रशासनले टाइमकार्ड सेवा लागु गरेसँगै जयकला बलामीले पहिला सेवा लिएकी छन् । उनी बराहताल गाउँपालिका गाउँपालिका ५ बाट नागरिकताको प्रतिलिपी लिन आएकी थिइन् । टाइमकार्ड अनुसार उनले एक घण्टामा सेवा पाउने उल्लेख गरिएको थियो । टाइमकार्डको पहिलो सेवा लिदैँ उनले काम छिटो र सहज हुने विश्वास व्यक्त गरिन् । यस्तै वीरेन्द्र कुमार डाङ्गीले राष्ट्रिय परिचयपत्र बनाउनको लागि पहिलो टाइमकार्ड सेवा लिएका छन् ।
संवाददाता । सोमबार, माघ ०९, २०७९ मा प्रकाशित