सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । मृगौला प्रत्यारोपण सेवा यही हप्ताबाट सुरु हुने अस्पतालले जनाएको छ ।
हाल मृगौला प्रत्यारोपण काठमाडौं र पोखरामा मात्र हुँदै आएकोमा आगामी शनिबारबाट प्रदेश अस्पताल सुर्खेतमा पनि यो सेवा सुरु हुने सोमबार पत्रकार भेटघाटमा प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । प्रदेश अस्पतालमा यो आर्थिक बर्षबाट केही थप सेवाहरु पनि बिस्तार गरिएको छ । विस्तार गरिएका सेवाहरुमा आँखाको सल्यक्रिया सेवा (फेको पद्धती) बाट अब प्रदेश अस्पतालमै प्राप्त गर्न सकिनेछ ।
यस्तै, थप ७ वटा मोडुलर ओ.टि संचालन हुने, डाइलासिस सेवा (आइ.सि.यु. र पोष्ट अपमा) बिस्तार, अर्थोपेडिक सर्जिरी हप्तामा ६ दिन र जनरल सर्जरी हप्तामा ४ दिन संचालन हुने, मृगौला प्रत्यारोपण सेवाको सम्झौता भई यो हप्ता देखि सेवा संचालन हुने, एमआरआई मेसिन चैत मसान्त भित्र संचालन हुने पनि डा. खड्काले बताए । साथै अस्पताल भवनको तला थपको टेण्डर प्रक्रियामा रहेको पनि उनले बताए ।
थप गरिएका सेवाहरु
-आँखाको सल्यक्रिया सेवा (फेको पद्धती),
-थप ७ वटा मोडुलर ओ.टि संचालन हुने,
-डाइलासिस सेवा (आइ.सि.यु. र पोष्ट अपमा) बिस्तार,
-अर्थोपेडिक सर्जिरी हप्तामा ६ दिन संचालन हुने,
-जनरल सर्जरी हप्तामा ४ दिन संचालन हुने,
-मृगौला प्रत्यारोपण सेवा शनिबारबाट सुरु हुने,
-एमआरआई मेसिन चैत मसान्त भित्र संचालन हुने ।
हाल अस्पतालले २९७ सैय्यामा सेवा प्रवाह गरिरहेको छ । सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठिकाँडामा वि.सं २०१९ मा स्वास्थ केन्द्रको रुपमा स्थापना भएको यो अस्पताल २०२४ सालतिर सुर्खेत उपत्यकामा स्थानान्तरण भयो । २०२९ सालमा १५ सैय्याको जिल्ला अस्पताल हुदै, २०४९ सालमा २५ सैय्याको सेवा बिस्तार भएको थियो । २०६२ साल फागुन ७ गते ५० सैय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको रुपमा स्तरउन्नती भएको यो अस्पताल २०७५ कार्तिक १३ गते प्रदेश अस्पतालमा रुपान्तरण गरी कर्णाली प्रदेश सरकारको मुख्य र संघिय सरकारको केही आर्थिक सहयोगमा विशेषज्ञ सेवा सहितको २९७ शैय्यामा हाल प्रदेश अस्पताल सुर्खेतले सेवा प्रवाह गर्दै आएको छ ।
संवाददाता । सोमबार, माघ ०९, २०७९ मा प्रकाशित