सुर्खेत । नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भगबन्डामा सहमती भएसंगै कर्णाली प्रदेशमा बुधबार मन्त्रीपरिषद् विस्तार गर्ने तयारीमा नेताहरु जुटेका छन् ।
आज मंगलबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको बैठकले मन्त्रालयको भागबन्डाको विषय टुङ्गिएपछि मुख्यमन्त्री शर्माले भोलि मन्त्रीपरिषद् विस्तार गर्ने तयारी भईरहेको बताएका छन् । मुख्यमन्त्री शर्माले कर्णाली मिडियालाई भने, “भोलि मन्त्रीपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छौँ । त्यसैको लागि छलफल भईरहेको छ । आशा गरौँ भोलि बेलुकासम्म मन्त्रीपरिषद्ले पूर्णता पाउनेछ ।”
मंगलबारको भागबन्डामा कर्णालीमा नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ । यस्तै, नेकपा एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको छ ।
पुष २८ गते मुख्यमन्त्रीसंगै कर्णालीका २ मन्त्रीहरुले पनि सपथ लिएका थिए । सपथ लिएका मन्त्रीहरु नेकपा एमालेक विनोदकुमार शाह र माओवादी केन्द्रका राजकुमार शर्मा मन्त्री बनेको १३ दिनसम्म पनि कुनै जिम्मेवारी पाएका छैनन् । मन्त्रालय घटाएर ७ बनाएको कर्णाली प्रदेश सरकारमा अब एमालेबाट २ र माओवादीबाट २ जना मन्त्री बन्नेछन् ।
संवाददाता । मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित