सुर्खेत । कर्णाली प्रदेशको स्वास्थ क्षेत्रलाई बलियो बनाउन लागि पर्ने कर्णाली प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री टेकराज पछाईले प्रतिवद्धता व्यक्त गरेका छन् ।
शनिबार वीरेन्द्रनगर सुर्खेतमा भएको नेपाल रेडियोलोजीकल सोसाइटीको प्रथम कर्णाली प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ क्षेत्रको विकासमा महत्वपूर्ण काम गर्ने बताएका हुन् । कर्णाली प्रदेशमा नागरिकको स्वास्थ्य र स्वास्थ्यकर्मीका थुप्रै समस्याहरु रहेको उदाहरण दिदै मन्त्री पछाईले आफ्नो कार्यकालमा प्रदेशको स्वास्थ्यलाई गुणस्तरीय बनाउने र स्वास्थ्यकर्मीका समस्याहरू समाधान गर्न लागि पर्ने बताएका छन् । उनले भने, ‘रेडियोलोजीकल सोसाइटीले उठाएका समस्या समाधान गर्न र जनतालाई स्वस्थ्य राख्न धेरै समस्या तथा चुनौतीहरु रहेको भएपनी व्यक्तिगत तथा मन्त्रालयको तर्फबाट महत्वपूर्ण कामहरु अघि बढाउनेछु ।’
स्वास्थ्यकर्मीहरुलाई जनताको स्वास्थ्यमा नै खेलवाड गर्ने खालका गतिविधि नगर्न आग्रह गर्दै, “हामी सबैको साझा सहकार्यबाट जनताले गुणस्तरीय स्वास्थ्य सेवा लिन पाउने र स्वास्थ्यकर्मीका समस्याहरु पनि सबैको साझा प्रयासबाट समाधान हुन्छन् ।” उनले भने ।
नेपाल रेडियोलोजीकल सोसाइटीको प्रथम कर्णाली प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र यसले रेडियोलोजी स्वास्थ्यकर्मीहरुका समस्याहरुका बारेमा आवाज उठाउने र समाधान गर्न मदत गर्ने नेपाल रेडियोलोजीकल सोसाइटीका कर्णाली प्रदेश संयोजक मक्कर बहादुर शाहीले बताए ।
संवाददाता । शनिबार, माघ १४, २०७९ मा प्रकाशित