Karnali Media
२०८३ भदौ १४ , आइतबार

तीन वर्षमै निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको पुल ६ वर्षसम्म पनि बनेन



रुकुमपश्चिम, १७ माघ । जिल्लाको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल छ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन। सडक डिभिजन कार्यालय चौरजहारीका अनुसार तीन वर्षमै निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको सानीभेरी नदीको पुलको निर्माण कार्य भइरहेको छ।

सडक डिभिजन कार्यालयका इन्जिनियर प्रज्वल सुनारका अनुसार फाउन्डेसनको डिजाइन परिवर्तन गरिएपछि पछिल्लो समय निर्माण कम्पनीले तीव्र रूपमा काम गरिरहेको छ। पुलको सब स्ट्रक्चरको काम पूरा भइसकेको छ। सुपर स्ट्रक्चरको काम सुरु भएको बताइन्छ। हालसम्म ५० प्रतिशत मात्र कामको प्रगति भएको दाबी उनको छ। पुल निर्माणको फाउन्डेसन र तल्लो भागको काम पूरा भएको र माथिल्लो भागको काम भइरहेको इन्जिनियर सुनारले बताए।

निर्माण कम्पनीले अब कुनै बहानाबाजी नगरेमा वा समस्या नआएमा करिब छ महिनाभित्रमा पुल निर्माण भइसक्ने जनाइएको छ। सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चौरजहारीमार्फत आर्थिक वर्ष २०७२र७३ मा गाराघाट पुल निर्माणको टेन्डर खोलिएको थियो।


जसअनुसार नागार्जुन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले २०७३ मा पुल निर्माणका लागि नौ करोड ६१ लाख रुपियाँमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो। निर्माणको जिम्मा लिएको नागार्जुन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडका प्रतिनिधि पतिराम केसीले असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्र पारिएको बताए। तीन वर्षभित्र सबै काम सक्ने पहिलो सम्झौता गरिएको भए पनि विभिन्न समस्याले गर्दा ढिलाइ भएको केसीको भनाइ छ।

फाउन्डेसनको डिजाइन परिवर्तन, कोरोना महामारीको असर, वर्षायामलगायतका कारण काम समयमै हुन नसकेको उनले जानकारी दिए। अहिले तीनवटा पिल्लर, स्ल्याबको काम सम्पन्न भएको छ र माथिल्लो भागका लागि बिम निर्माण र ढलानको तयारी गरिएको केसीले जानकारी दिए।

पुल निर्माणको काम लामो समयसम्म सम्पन्न नहुँदा यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ। गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७९ माघ १७ गते मंगलबार