कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्षेनी राजमार्गमा यात्रा गर्ने कर्णालीवासी सास्ती बेहोर्दै आएका छन् । राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि स्तरोन्नति हुनसकेको स्थानीयले बताएका छन् । कर्णाली राजमार्गमा कर्णाली राजमार्गको स्तरोन्नति नहुदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीहरुलाई समेत उत्तिकै पिरोल्ने गरेको छ । सडक सञ्चालनमा आएको लामो समय भइ सक्दा पनि कर्णाली राजमार्गमा ढुक्कका साथ यात्रा गर्न सकिने सडक अझै नबनेको कर्णालीवासीहरुले बताएका छन् ।
सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको कालिकोटको पचालझरनाका स्थानीय कटक बहादुर बमले बताए । उनले भने, ‘राजमार्गको स्तरउन्नती नहुदा धेरै समस्या पर्ने गरेको छ ।’ कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ । तर वर्षौ देखि राज्यले सडक निर्माणमा लापरबाही गरेकै कारण कर्णालीवासीले बर्षेनि सास्ती खेप्नु परेको छ।
सुर्खेतको विरेन्द्रनगर देखि दैलेख हुँदै कालिकोटको दही खोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ । भने राजमार्गअन्तर्गत दही खोला देखि जुम्ला खलंगासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ । सडक डिभिजन मार्फत टुक्रे मर्मत–सम्भारका कामहरू हुँदै आएका छन् । तर राजमार्ग सुधार हुन नसकेको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर चित्र चौलागाईले बताए।
यता, संघिय सरकारको भौतिक पूर्वाधार तथा यातायात सह–सचिब एवम (प्रवक्ता ) शिव प्रसाद नेपालले स्रोत नहुदा कर्णाली राजमार्ग स्तर उन्नतीको काम अगाडि बढ्न नसकेको बताए । अहिले नेपाल सरकार स्रोतको खोजीमा जुटेको उनको भनाइ छ।
संवाददाता । सोमबार, माघ २३, २०७९ मा प्रकाशित