सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति नपाए एमाले सरकारमा नबस्ने बताएका छन् । उनले पुष १० को सहमति अनुसार नभए नेकपा एमाले सरकारमा नबस्ने बताएका हुन् ।
प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा बिहीबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पुष १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गरे ।
यस्तै सहमति पालना हुन्छ भन्नेमा एमाले विश्वस्त रहेको र यदी नहुने अवस्था भयो भने सरकारमा नबस्ने बताउँदै उनले भने, ‘तत्कालिन गठबन्धन भत्किएर नयाँ समिकरण बन्दा पुष १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो । सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ । अहिलेपनि सहमति अनुसार नै सत्ता समिकरण चलिरहेको छ । एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ ।’
साथै उनले सहमतिविपरित हुने अवस्था आएमा एमाले सरकारमा नरहने पनि स्पस्ट पारे ।
संवाददाता । बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित