सुर्खेत, ११ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले राष्ट्रपति निर्वाचनको मुखमा भारतको विदेश सचिवसंग नेपालका सबै शासक पार्टीका नेताहरुले भेटघाट गर्नु आत्मसमर्पण नै भएको बताएका छन् ।
बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षणमा बोल्दै सचिव सुवालले नेपालका शासक दलहरु देशभक्त नहुदा राष्ट्रपतिको निर्वाचनमा भारतको हस्तक्षेप बढेको उल्लेख गरे । भारतले तालिम र हतियार दिएर नेपालमा माओवादीलाई सशस्त्र गतिविधि सञ्चालन गराएको बारे धेरै खुलिसकेको भन्दै सचिव सुवालले सरकारले दिएको जनयुद्ध दिवसको औचित्य नभएको बताए । नेमकिपाले माओवादीलाई कम्युनिस्ट नभएर अराजकतावादी भएको उतिबेला उल्लेख गरेको भन्दै पुँजीवादी गणतन्त्रले कामदार जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी नदिने उनको भनाइ छ ।
संविधानमा देश र जनताका विषवस्तु समावेश नभएको उनले वताए । सम्पत्ति सुद्धीकरणको नाममा स्वयंकर घोषणा गरेर छुट दिनु गलत भएको भन्दै स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने तर्क व्यक्त गरे । उनले भने, सरकारको नीतिले सरकार पुँजीपति वर्गले सञ्चालन गरेको पुष्टी हुन्छ ।
सम्पत्तिमा सीमा राख्नुपर्ने भन्दै उहाँले विदेशमा सम्पत्ति राख्न नपाउने बन्दोवस्त राख्नु आवश्यक भएको विचार व्यक्त गर्दै । संसद्मा नेमकिपा नै प्रतिपक्ष पार्टीको भएको भन्दै सचिव सुवालले प्रमलाई विश्वासको मत दिने दल विपक्षी दल हुन नसक्ने बताए । नेपाल नागरिकको हैसियतले पूर्व राजा ज्ञानेन्द्रले दल खोल्न सक्ने तर अब राजतन्त्र फिर्ता हुने सम्भव नभएको उनको भनाइ छ ।
नेका, एमाले, माओवादीजस्ता शासक पार्टीहरु एकै ड्यांका मुला हुन् भन्दै सबै शासक दलहरुले देशघाती एमसीसी पारित गरेको तर्क व्यक्त गरे । उनले एमसीसीमा वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने प्रावधान भएको भन्दै तत्कालीन प्रम देउवाले सित्तैमा आएको लिने तर्क राखेको बताए ।
संवाददाता । बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित