सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकराज पछाईले कर्णाली प्रदेशमा युवा परिषद् गठनसम्बन्धी विधयेक अगाडी बढाउने प्रतिवद्वता व्यक्त गरेका छन्।
यसअघिको कार्यकालमा उक्त विधेयक मस्यौदा गरी आफैले सामाजिक विकास मन्त्रालयमा बुझाएपनि विभिन्न कारणले अगाडी बढ्न नसकेको भन्दै आफुले त्यसलाई आगाडी बढाउने तयारीमा रहेको उनले बताए।
मंगलबार वीरेन्द्रनगरमा आयोजित ‘नीतिनिर्माण प्रक्रियामा युवा सहभागिता’ विषयक प्यानल छलफल कार्यक्रममा बोल्दै मन्त्री पछाइले आफु मन्त्रालयमा आइसकेपछि विभिन्न कानुन एवं कार्यविधिहरु द्रुत गतिबाट अगाडी बढाउने प्रयास गरिरहेको बताएका हुन्। कार्यक्रममा बोल्दै मन्त्री पछाइले युवाहरुलाई नीतिनिर्माण प्रक्रियामा धेरैभन्दा धेरै संग्लग्न गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्लले आफुले कर्णाली प्रदेश सभामा युवाका आवाजहरु उठाउने बताइन्। कर्णाली प्रदेश सभाका ४० जना सांसदहरुमध्ये आफु सबैभन्दा युवा र कम उमेरको रहेको बताउँदै उनले आफुले संसदमा युवा, महिला, अल्पसंख्यक, दलित लगाउतका समुदायहरुको आवाज संसदमा बोल्दै गर्दा त्यो आवाज नगुन्जिने हो कि भन्ने भय रहेको बताइन्।
सांसद मल्लले संसदमा आएर धेरै कुराहरु सिक्दै काम गर्दै गरेको र संसद भनेको सिक्ने थलो रहेको समेत बताइन्। कार्यक्रममा बोल्दै युवा गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष रबिन्द्र चन्दले कर्णाली प्रदेशमा नीतिनिर्माणमा युवाहरुलाई धेरै भन्दा धेरै सहभागिता गराउन आवश्यक रहेको बताए। चन्दले त्यसका लागि आफुहरुले निरन्दर दावव एवं पैरवी पनि गरिरहने प्रतिवद्धता व्यक्त गरे।
प्रदेश संरचनामा युवा अध्ययन तथा बहस श्रृंखलाअन्तर्गत नेपाल लिडरसिप एकेडेमिको आयोजनामा सञ्चालित उक्त बहस कार्यक्रमको सहजिकरण मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले गरेका थिए। कार्यक्रममा कर्णालीका करिब ६० जना युवाहरुको सहभागिता रहेको थियो।
संवाददाता । बुधबार, चैत ०८, २०७९ मा प्रकाशित