उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस, नेकपा एस, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई लिएर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा बुझाएको मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्रमा खड्कालाई उपप्रधानसहित रक्षाको जिम्मा दिइएको छ । खड्काले सरकारमा दोस्रो वरीयता पाएका छन् । प्रधानमन्त्री विदेश भ्रमणमा जाने बेला दोस्रो वरीयताको मन्त्रीलाई कार्यवाहक दिने प्रचलन छ ।
गृह, अर्थ या परराष्ट्र दाबी गरेका खड्काले अन्तिममा रक्षाको जिम्मा पाएका हुन् । उनले विगतमा गृह मन्त्रालयको जिम्मेवारी पाएका थिए । यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृहको जिम्मा दिइएको छ । सरकारमा दुई उपप्रधानमन्त्री रहेका छन् ।
यसअघि प्रचण्ड सरकारमा चारजना उपप्रधानमन्त्री थिए ।
संवाददाता । शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित