सुर्खेत । प्रचण्ड नेतृत्वको सरकारमा कर्णालीले तीन मन्त्री पाएको छ । यसअघि सून्य रहेकोमा सत्ता समिकरण फेरिएसँगै कर्णालीले तीन मन्त्री पाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार गरेको मन्त्रीपरिषद् पुनर्गठन कर्णालीका ३ जना सांसद मन्त्री भएका छन् । जसमा नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री, नेकपा माओवादीका केन्द्रका उपमहासचिव शक्ति वस्नेत उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री तथा नेकपा एकिकृत समाजवादीका उपमहासिचव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका हुन् ।
उपप्रधान तथा रक्षा मन्त्री : पूर्ण बहादुर खड्का
कर्णालीबाट प्रचण्ड क्याविनेटमा उपप्रधान तथा रक्षा मन्त्री बनेका नेपाली काँग्रेसका उपसभापति तथा सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सांसद पूर्ण बहादुर खड्का प्रचण्ड नेतृत्वको सरकारमा दोस्रो वरियतामा रहेका छन् । यसअघि २०४८, २०५१ र २०५६ मा प्रत्यक्ष चुनाव जितेर सांसद भएका उनी २०६४ मा भने समानुपातिक सांसद भएका थिए । २०७० मा प्रत्यक्ष चुनाव जितेर सांसद भएका खड्का २०७४ मा पराजित भएका थिए भने यो पटक सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा चुनावमा विजयी भएका थिए । यो पटक सहित ६ पटक सांसद भएका खड्का यसअघि दुइ पटक गृहमन्त्री भइसकेका छन् । यस्तै युवा तथा खेलकुद मन्त्री, संचार मन्त्री, उद्योग बाणिज्य मन्त्री समेत भएर राज्य संचालन गरेको अनुभव उनीसंग छ । संम्भवतः कर्णालीबाट धेरै पटक सांसद तथा मन्त्री बन्ने खड्का नै पहिलो व्यक्ति हुन् ।
उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री : शक्ति वस्नेत
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको मन्त्रीपरिषद् पुनर्गठनमा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बनेको शक्ति बहादुर बस्नेत जाजारकोटका हुन् । नेकपा माओवादी केन्द्र जाजारकोटबाट तीन पटक चुनाव जितेका वस्नेत यो सँगै चौथो पटक मन्त्री बनेका हुन् । नेकपा माओवादी केन्द्रका उपमहासिचव समेत रहेका उनी यो भन्दा पहिले गृहमन्त्री समेत भएका थिए । २०६८ सालमा स्वास्थ्य मन्त्री भएका वस्नेत २०७२ सालमा गृहमन्त्री बनेका थिए । यस्तै २०७४ शालमा वन तथा वातावरण मन्त्री बनेका उनी अहिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् । नेकपा माओवादी केन्द्रबाट २०६४ मा पहिलो पटक संविधानसभा चुनावमा समानुपातिक सांसद बनेका वस्नेत ०७०, ०७४ र ०७९ को निर्वाचनमा प्रत्यक्षतर्फबाट उनी विजयी भएका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री : प्रकाश ज्वाला
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको मन्त्रीपरिषद् पुनर्गठनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधी सभामा निर्वाचित सांसद हुन् । नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला २०५१ को आम निर्वाचनमा नेकपा एमाले सल्यान क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका उनी २०५६ को आम निर्वाचनमा पनि नेकपा एमालेबाट निर्वाचित भएका थिए । यस्तै उनले २०७० सालमा समेत चुनाव जितेका थिए । २०७४ मा एमालेबाट सल्यान प्रदेश सभा (ख) बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका ज्वाला कर्णाली प्रदेशको पहिलो अर्थमन्त्री पनि बनेका थिए । तत्कालिन नेकपा भित्रको अन्तरसंघर्षका क्रममा उनले कर्णाली प्रदेश सभामा नेकपा एमाले विरुद्ध विद्रोह गर्दै माधब नेपालको पक्षधरको नेतृत्व गरेका थिए । त्यसबेला उनी सहित तत्कालिन एमालेको ४ जना नेताले प्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सत्ता समेत जोगाएका थिए । २०७९ को प्रतिनिधी सभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट तत्कालिन गठबन्धनका साझा उम्मेदवार बनेर चुनाव जितेका उनै प्रकाश ज्वाल अहिले प्रचण्ड क्याविनेटका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।
संवाददाता । शनिबार, चैत १८, २०७९ मा प्रकाशित