Karnali Media
२०८३ असार १७ , बुधबार

नेपाल च्याम्पियन बन्दै एसिया कपमा



नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएको छ ।

नेपाल च्याम्पियनका साथ एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो । नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो ।

जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झा ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे । भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा क्रिजमा रहे ।


गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । उनले ७५ बलमा अर्धशतक पुरा गरेका हुन् । अघिल्लो महिना गुलशनले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नै अर्धशतक प्रहार गरेका थिए ।

नेपालको सुरुवात भने राम्रो हुन सकेको थिएन । नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एक रनमा गुमाएको थियो । स्पिनर रोहन मुस्तफाको बलमा उनी एलबीडब्लू आउट हुन पुगे ।

प्रकाशित मिति : २०८० वैशाख १९ गते मंगलबार